काठमाडौं, असार १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु राष्ट्रपतिलाई भेट गरी फर्किएका छन्।
संघीय संसद्को बजेट अधिवेशन अन्त्य भएपछि तरंगित राजनीतिक अवस्थामा प्रचण्डले राष्ट्रपतिलाई भेट गरी फर्किएका हुन्। उनीहरुबीच करिब एक घन्टा कुराकानी भएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी उनी सिधै बालुवाटार पुगेका थिए। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीलाई भेट गरी मन्त्रिपरिषद् बैठकबाट संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गराएका थिए। राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतलनिवास पुगेका बेला प्रधानमन्त्री ओलीसहितका अन्य शीर्ष नेता भने बालुवाटारमै रहेको बताइएको थियो।
संसद् अधिवेशन अन्त्यपछि दल फुटाउने अध्यादेश आउने भन्दै राजनीतिक सरगर्मी बढेका बेला प्रचण्ड र राष्ट्रपतिबीच यही विषयमा कुराकानी भएको प्रचण्डनिकट एक नेताले नेपाल लाइभलाई बताए। भेटघाटबारे भएका विस्तृत कुराकानीबारे भने उनले खुलाउन चाहेनन्।
यसअघि स्थायी कमिटिको बैठक चलिरहेकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट पक्षका शीर्ष नेताको बैठक बसेको थियो।
बैठकमा प्रधानमन्त्री ओलीसहित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमबीच छुट्टै वार्ता भएको थियो।


























