असार १८ । अहिले धेरैको लागि अनिवार्य आवश्यक्ता बनेको छ, चस्मा। अर्थात उनीहरुमा कुनै न कुनै आँखाको समस्या छ। आँखाको दृष्टि नै गुमाउनु पर्यो भने ? सामान्य अवस्थामा भएकाले यस्तो कल्पना पनि गर्न सक्दैनन्। जबकी आँखामा के कारणले क्षति पुग्छ, कसरी यसको दृष्टि सुरक्षित राख्ने भनेर खासै सरोकार राखेको पनि पाइदैन।
खासगरी मोबाइल, ल्यापटप जस्ता आधुनिक उपकरणको उपलब्धता आँखाको लागि हानिकारक बन्देछ। मान्छेहरु टेलिभिजन अगाडि झुम्मिन्छन्। मोबाइलमा घण्टौं बिताइदिन्छन्। ल्यापटप एवं कम्प्युटरमा बसेपछि रात बितेको पत्तो पाउँदैनन्। यसरी स्क्रिनसँग जति–जति निकटता र लगाव बढ्दैछ, उत्तिनै आँखाको दृष्टि गुमाउने जोखिम बढ्दैछ।
अर्कोतिर विद्युतिय उपकरण खासगरी चहकिलो उज्यालोमा बस्ने बानीले पनि आँखामा प्रत्यक्ष असर गरिरहेको छ। त्यसमाथि शहरी क्षेत्रमा धुलो–धुँवा एवं प्रदूषण थपिएको छ, जसले आँखाको दृष्टि खराब गरिरहेको छ। हाम्रो जीवनशैली, खानपान आदिले पनि आँखाको दृष्टिलाई प्रभाव पार्ने बताइन्छ।
आँखाको दृष्टि नै कमजोर भएपछि उपचार खोज्नुभन्दा आँखालाई स्वस्थ राख्नु सर्वोत्तम हुन्छ । यसका लागि केही सावधानी र प्राकृतिक विधी अपनाए पुग्छ । आँखालाई स्वस्थ राख्ने केही व्यायाम वा तौर तरिका छन्। जस्तो कि, बिहान उठ्नासाथ चिसो पानी छ्याप्ने, आँखा झिमझिम गर्ने, स्क्रिनको समय कटौती गर्ने, हरियो सागपात सेवन गर्ने।
स्क्रिनको समय घटाउने
एकोहोरो मोवाइल, ल्यापटपमा हेरिरने वा लामो समय बिताउने कुरामा परिवर्तन गर्न सकिन्छ। अहिलेको अवस्थामा आँखालाई सुरक्षित राख्नु भनेको स्क्रिनको समय कटौती गर्नु नै हो। टेलिभिजन, ल्यापटप, मोबाइल आदिमा लामो समय बिनाउनु उचित हुँदैन।
खानपान
खानपान पेट भर्नका लागि मात्र होइन, शरीर स्वस्थ राख्न पनि हो। आँखाको दृष्टि कायम राख्न पनि खानपानले भूमिका खेल्छ। खासगरी हरियो सागसब्जी आँखाको स्वास्थ्यको लागि राम्रो मानिन्छ। यसैगरी खानामा माछा, पालुंगो, फल तथा हरियो सागलाई समावेश ग¥यौं भने आँखा सुख्खा रहने समस्या समाधान हुन्छ।
आँखा झिमझिम गर्ने
परेला झिमझिम गर्नाले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ। यसबाट आँखा ताजा र तनावमुक्त रहन्छ। कम्प्युटरको प्रयोग गर्ने व्यक्तिहरु आफ्नो आँखा कम झिम्क्याउँछन्। यस्ता व्यक्तिहरुले हरेक सेकेन्डमा आफ्नो आँखा झिम्क्याउनु आवश्यक हुन्छ।
आँखाको व्यायाम
आँखाका केही व्यायामहरु गरेर पनि आँखालाई स्वस्थ राख्न सकिन्छ। यसका लागि आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नु पर्छ र जब हत्केला तातो हुन्छ, त्यसलाई हल्का रुपमा आँखामाथि राख्नुपर्छ।
पानी छ्याप्ने
समय–समयमा सफा पानीले आँखा धोइरहनुस। यसबाट आँखामा डिहाइड्रेसन हुन पाउँदैन र स्वस्थ रहन्छ। बाहिरबाट घर फर्केपछि मुख धुँदा आँखामा पानी छम्किने बानी गरौं।
सनग्लासको प्रयोग
चर्को घाम वा धुलो–धुँवाबाट आँखालाई सुरक्षित राख्नका लागि सन ग्लास उपयुक्त हुन्छ। यसले धेरै हदसम्म आँखालाई सुरक्षित राख्छ।
नियमित जाँच
आँखा कमजोर भएका व्यक्तिहरुले नियमितरुपमा आफ्नो आँखाको जाँच गराउनुपर्छ। आँखाको प्रकाश ठिक छ र पढ्न–लेख्न कुनै कठिनाई भइरहेको छैन भने पनि वर्षमा कम्तिमा एक पटक आँखाको जाँच अवश्य गराउनुपर्छ।
























