असार १८ । न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले राजीनामा दिएका छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भएको सरकारी प्रयासको आलोचना तथा मन्त्री आफैले लकडाउन उल्लंघन गरेका कारण विवाद भएको परिवेशमा उनले राजीनामा दिएका हुन्।
लकडाउनका बेला परिवारका सदस्यलाई समूद्री किनारमा लिएर गएका कारण क्लार्कलाई यसअघि नै मन्त्री परिषदको बरियतामा घटुवा गरिएको थियो।
आफू पदमा रही रहे सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको समग्री प्रयासलाई नै धुमिल वा ओझेलमा पर्ने भन्दै उनले राजीनामा दिएका हुन्।
प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मन्त्री क्लार्कको राजीनामा स्वीकृत गरेको बिहीबार पुष्टि गरेकी छन्।
कोरोना भाइरसको संक्रमण नियन्त्रण लिनमा सफल भएको थियो। त्यहाँ कुल संक्रमितको संख्या १५ सय २८ रहेकोमा २२ जनाको ज्यान गएको छ। गएको महिना भाइरस फ्रि भएको भन्दै देशभित्र लागु गरिएका सबै प्रतिबन्ध फुकुवा भएको थियो।
तर हालका दिनमा सीमा क्षेत्र तथा आइसोलेशन सेन्टरहरुको व्यवस्थापनलाई लिएर सरकारको आलोचना भएको छ। मृत्यु शैय्यामा रहेका अभिभावकलाई भेट्नका लागि आइसोलेशन सेन्टरमा रहेका दुईजनालाई बिना परीक्षण यात्रा अनुमति दिइएको थियो। पछि उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
क्लार्कले भनेका छन्, ‘म स्वास्थ्य मन्त्री हुँदा गरिएका सबै निर्णयहरुको जिम्मेवारी म लिन्छु।’ अहिलेको अघि बढ्ने उपयुक्त समय रहेको उनले बताए। हाल देशमा कतै पनि कोरोना भाइरसको संक्रमण समुदाय तहमा नफैलिएको उनले बताएका छन्।
क्लार्कले लकडाउन उल्लंघन गरेका कारण भएको विरोधपछि यसअघि नै राजीनामा प्रस्ताव गरेका थिए, तर देश महामारीसँग जुधिरहेको भन्दै प्रधानमन्त्री आर्डर्नले उनको राजीनामा स्वीकार नगरी बरियता घटुवा गरेकी थिइन्। एजेन्सी


























