चितवन । चितवनका संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले विगत ६ महिनादेखि तलब नपाएको भन्दै विद्यालय सञ्चालकहरूसँग यथाशीघ्र तलब सुविधा दिन माग गरेका छन्। नयाँ शैक्षिक सत्रको पनि तेस्रो महिना चल्दै गर्दा पुरानै शैक्षिक सत्रको तीन महिनादेखिको तलब रोकिएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले जनाएको छ। यस विषयमा प्याब्सन चितवन, शिक्षा समन्वय इकाइ समिति, शिक्षा महाशाखालगायत सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाइसके पनि अहिलेसम्म वास्ता नभएको इस्टु चितवनका अध्यक्ष जनकराज घिमिरेले जानकारी दिए।
‘कतिपय शिक्षक कर्मचारी सामान्य मजदुरले पाउने सुविधाभन्दा पनि कम सुविधामा काम गर्न बाध्य छन्,’ उनले भने, ‘तर, सुविधा भने ६ महिनादेखि रोकिएको छ।’ समयमै सेवा सुविधा रोकिँदा घर चलाउनै धौ धौ भएको उनले बताए। उनका अनुसार चितवन जिल्लामा करिब छ हजार शिक्षक कर्मचारी निजी विद्यालयमा कार्यरत छन्। करिब १५० भन्दा बढी निजी विद्यालय सञ्चालनमा छन्। तर, गएको शैक्षिक वर्षको अन्तिमदेखि नयाँ शैक्षिक वर्ष लागेपछि हालसम्म तलब नपाएको उनको भनाइ छ।
चैत ११ देखि जेठ मसान्तसम्ममा सरकारले नै सार्वजनिक बिदा घोषणा गरिसकेकोले बिदाको समयमा भनेर सेवा सुविधा रोक्न नमिल्ने अध्यक्ष घिमिरेले बताए। कुनै पनि विद्यालयले शिक्षक कर्मचारीलाई समयमै सुविधा दिन नसके विद्यालय नै बन्द गर्नुपर्ने इस्टुको माग छ। ‘तर, अभिभावकले शुल्क बुझाएन भन्दैमा हाम्रो सुविधा कटौती गर्न मिल्दैन,’ युनियनका सचिव शिक्षाराज अधिकारीले भने, ‘किनकि अभिभावकले शुल्क बुझाएको वा नबुझाएको विषय हाम्रो सरोकारको विषय रहेन।’
इस्टुले चैतसम्मको भुक्तानी यथाशीघ्र दिनुपर्ने माग गरेको छ। बाँकी तबल भुक्तानी पनि छिटो गरिदिन विद्यालय सञ्चालकहरूसँग माग गरेको छ। समयमै भुक्तानी नदिइए सशक्त संघर्षका कार्यक्रम गर्ने इस्टुले चेतावनी दिएको छ।


























