असार १६ । कोभिड–१९ महामारीका कारण ठप्प हलहरूको विकल्पमा अनलाइन प्लेटफर्म आउन थालेका छन्।
लकडाउन खोलेर अन्य देशहरू सामान्य जनजीवनमा फर्किन थाले पनि छिमेकी भारतमा भने संक्रमितको संख्या उल्लेख्य बढ्दै गएसँगै जनजीवन सामान्य हुन समय लाग्ने देखिन्छ। जसका कारण बलिउड चलचित्र निर्माताहरू अब आफ्नो ठूला बजेटका चलचित्र पनि हलमा नभई अनलाइन रिलिज गर्न बाध्य भएका छन्। बलिउड चलचित्रहरू विस्तारै एकपछि अर्को गर्दै अनलाइन रिलिज हुन थालेका छन्।
यही सूचीमा अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ पनि परेको छ। हरर कमेडी जनराको ‘लक्ष्मी बम’ डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको हो।
तमिल चलचित्रको हिन्दी रिमेक रहेको यस चलचित्रमा अक्षय र कियारा मुख्य भूमिकामा छन्। एक पुरुष जो अलौकिक शक्तिबाट डराउने हुन्छ तर पछि उसले आफ्नो त्यो डरसँग सामना गर्नुपर्ने हुन्छ, किनभने उसको शरीरमा लक्ष्मीको आत्माले बास गर्नेगर्छ। चलचित्र यसै सेरोफेरो वरिपरि घुमेको छ।
डिज्नी प्लस हटस्टारको भर्चुअल प्रेस कन्फरेन्समा अभिनेता अक्षयले हरर कमेडी आफ्नो मनपर्ने विधा भएको बताउँदै ‘लक्ष्मी बम’ आफनो ‘प्यासन प्रोजेक्ट’ भएको बताएका छन्।
यस्तै अभिनेता अजय देवगन अभिनित चलचित्र ‘भुजः द प्राइड अफ इन्डिया’ पनि डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएका छन्। अभिषेक दुधैयाको लेखन र निर्देशन रहेको यो चलचित्र १९७१ मा भारत–पाक युद्धको पृष्ठभूमिमा आधारित छ।
चलचित्रमा अजय देवगन स्क्वाड्रन नेता विजय कर्णिकको भूमिका निभाउँदै छन्। भने अजयका अलवा चलचित्रमा सञ्जय दत्त, सोनाक्षी सिन्हा, परिणिति चोपडा एमी भिराक महत्त्वपूर्ण भूमिकामा देखिनेछन्।
यी दुई चलचित्रका साथै अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’ पनि सोही अनलाइन प्लेटफर्ममा रिलिज हुने डिज्नी प्लस हटस्टारले जानकारी दिएको छ।
यो १९९१ मा रिलिज भएको हिट रोमान्टिक थ्रिलर चलचित्र ‘सडक’ को सिक्वेल हो। २१ वर्षपछि निर्देशनमा पुनः फर्किएका निर्देशक महेश भट्टको निर्देशनमा बनेको यो चलचित्रमा आदित्य रोय कपुर, सञ्जय दत्त, गुल्सन ग्रोबर, जिशु सेन गुप्ता, पूजा भट्ट पनि रहनेछन्। सञ्जय र पुजा ‘सडक’मा पनि देखिएका थिए।
यी ३ चलचित्रका साथै ‘लुटकेस’, ‘द बिग बुल’, ‘हफिजा’ र हालै दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ पनि सोही प्लेटफर्मममा रिलिज हुँदै छ। सुशान्तको ‘दिल बेचारा’ २४ जुलाईमा रिलिज हुँदै छ भने बाँकी चलचित्रको रिलिज मिति तय हुन बाँकी छ।
डिज्नी हट स्टारले सोमबार यी चलचित्रहरूको भर्चुअल प्रेस कन्फरेन्सको आयोजना गरेर अनलाइन रिलिजबारे जानकारी दिएको हो। (इन्डियन एक्सप्रेस)


























