मुम्बई, असार १५ । बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान। उनले बलिउडमा पाइला चालेको २८ बर्ष पुगेको छ। भारतिय मिडियाका अनुसार उनले सन् १९९२ मा बलिउडमा डेब्यु गरेका थिए।
सन् १९९२ मा फिल्म ‘दिवाना’बाट बलिउडमा प्रबेश गरेका उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका छन्। उनको पछिल्लो फिल्म जिरो लाई दर्शकले खासै नरुचाएपछि अहिलेसम्म फिल्ममा देखिएका छैनन्।
उनी नयाँ फिल्ममा कमब्याक गर्ने खबर आउँदै गर्दा भारतमा कोरोनाभाइरसको संक्रमण देखियो। कोरोना फैलन थालेपछि बलिउडका सबै फिल्मका कामहरु रोकिए। अहिले उनी घरमै समय बिताइरहेका छन्। उनले आफ्नो फिल्म क्षेत्रमा प्रबेश गरेको २८ वर्ष पुरा भएको पत्तै पाएनन्।
उनले बलिउडमा प्रबेश गरेको २८ वर्ष पुरा भएको खुशी मनाउदै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘थाहा नै भएन कि कहिले मेरो लगाव नै मेरो उद्देश्य भइदियो। अनि फेरि मेरो प्रोफेसन बन्यो। तपाई सबैलाई धन्यबाद छ कि तपाईले यतिका वर्षसम्म मलाई मनोरञ्जन गराउने मौका दिनुभयो।’
उनले ट्वीटरमा भनेका छन् , ‘मलाई लाग्छ कि मेरो प्रोफेसनालिज्म भन्दा धेरै मेरो लगाव नै एक बलियो कारण बन्नेछ, जसले गर्दा अब आउने वर्षमा पनि तपाईहरुलाई मनोरञ्जन प्रदान गरिरहनेछु।’ एजेन्सी


























