काठमाडौं, असार १५ । कोरोनाभाइरस संक्रमणको नयाँ श्रृखंलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसंख्या रहेको क्षेत्र आङसिन काउन्टीमा पुन लकडाउन लागू गरिएको छ। लकडाउन लागू भएसंगै अव उक्त क्षेत्रमा परिवारका एक सदस्यलाई मात्र दिनमा एक पटक खाद्यान्न तथा औषधिजन्य र अतिआवश्यक वस्तु किन्न बाहिर निस्कने अनुमति दिईएको छ।
चीनले पहिलो चरणमा कोभिड–१९ संक्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै सक्रमण फैलिएको आशंकामा बेइजिङ् नजिकैको सिनफादी क्षेत्रका बस्तीहरूलाई बन्द गरी सक्रमण परीक्षण गरेको थियो।
चीनको राजधानी बेइजिङ र छिमेकी हुबेई प्रान्तमा पछिल्लो समय पुन संक्रमण देखिन थालेपछि सरकारले स्थानीय वस्तीहरूलाई अन्य क्षेत्रसँगको सम्पर्कवाट पनि बन्द गरेको छ। चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार बेइजिङबाट करिब १ सय ५० किलोमिटर टाढा अवस्थित आङसिन काउन्टीमा सयौँको संख्यामा संक्रमित भेटिएपछि त्यस क्षेत्रलाई पूर्ण बन्द गरी संक्रमण फैलिन नदिने प्रयास गरेको छ।
बेइजिङमा विगत २४ घण्टामा थप १४ व्यक्तिमा कोरोना सक्रमण पुष्टि भएपछि उक्त कदम चालिएको हो। राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो। एजेन्सी


























