मुम्बई, असार १४ । कोरोना भाइरसका कारण बलिउड सुस्ताएको छ। केही महिनादेखि फिल्म हल बन्द छन्। भारतमा लकडाउन जारी छ।
फिल्म हल बन्द भएका कारण यतिबेला कैयन् फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भइरहेका छन्।
हालै अमिताभ बच्चन र आयुष्मान खुरानाको फिल्म ‘गुलाबो सिताबो’ पनि अनलाइन प्लेटफर्ममा रिलिज गरिएको थियो।
भारतीय मिडियाका अनुसार चर्चामा रहेको जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ र अनन्या पाण्डेको फिल्म ‘खाली पीली’ पनि अब सीधै ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ।
जी च्यानलले यी दुई फिल्मलाई किन्न चाहेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
जाह्नवीको अभिनय रहेको फिल्म ‘गुञ्जन सक्सेना’ को काम सकिएको छ। अनन्या पाण्डे र इसान खट्टरको फिल्म ‘खाली पीली’ को केही काम बाँकी छ।
दुवै फिल्मलाई राम्रो विषयवस्तु भएका फिल्म मानिएको छ। जाह्नवीको फिल्म ‘गुञ्जन सक्सेना’ नेटफिल्क्सले पनि किन्न सक्ने सम्भावना छ।
बलिउडमा कैयन् फिल्म रिलिज हुन नपाएर रिलिजको पर्खाइमा छन्। कोरोना महामारीपछिको सामान्य हुन अझै समय लाग्ने देखिएको छ। जसकारण निर्माताले आफ्ना फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गरिरहेका छन्।


























