हेटौंडा । हेटौंडा उप–महानगरपालिकामा चालू आर्थिक वर्षमा ४ सय ७५ जनाले रोजगारी पाएका छन्। रोजगारी सिर्जना गर्ने खालका विभिन्न तालिमबाट ७ सय २५ जना लाभान्वित भएका हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए। चालू आर्थिक वर्षको यो अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार सूचीमा सूचीकृतहरुलाई लक्षित गरी नगरका विभिन्न ९ स्थानमा तटबन्ध, सिंढी, पैदल मार्ग, सिंचाई कुलो तथा नाली निर्माण, नाला सरसफाइ र पार्क निर्माणजस्ता कार्यक्रम सञ्चालन गरी सम्पन्नको अन्तिम चरणमा रहेको छ। यसबाट बेरोजगार सूचीमा रहेका सूचीकृत ४ सय ७५ जना लाभान्वित भएको मेयर महतले बताए।
नेपाल सरकार, श्रम रोजगार तथा गरिबी निवारण मन्त्रालय र स्वीटजरल्यान्ड सरकारको साझेदारी सम्झौता बमोजिम हेटौंडा उप–महानगरपालिका समेतमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी परियोजना)अन्तर्गत उप–महानगरपालिका र सेवा प्रदायक संस्थाबीच भएको सम्झौता बमोजिमका कार्यहरु सेवा प्रदायक संस्थाको छनौट प्रक्रियामा ढिलाइ र वर्तमान कोरोना भाइरसको प्रभावका कारण आंशिकरुपमा सम्पन्न भएको छ। चालू आर्थिक वर्षको स्वीकृत वडा तथा नगर स्तरीय सामाजिक विकासतर्फका कार्यक्रमअन्तर्गत २ सय ७७ वटा योजना सम्झौता भई १ सय ६७ वटा सम्पन्न भएको र ५८ वटा चालू अवस्थामा रहेका छन्।
सम्पन्न योजनामध्ये २१ वटा सीपमूलक कार्यक्रमबाट ७ सय २५ जनाले विभिन्न सीपमूलक तालिम प्राप्त गरेको मेयर महतले बताए। उनका अनुसार क्षमता विकास तथा नेतृत्व विकाससँग सम्बन्धित तालिम कार्यक्रम ३० वटा सम्पन्न भएका छन्। अन्य कार्यक्रमहरुमा लोक सेवा आयोग तयारी कक्षा, जेष्ठ नागरिक सम्मान, स्वास्थ्य शिविर सञ्चालन, दिवसिय कार्यक्रम, खेलकूदका कार्यक्रम, संस्कृति प्रवर्द्वन, भाषा प्रशिक्षणलगायतका कार्यक्रम रहेका छन्। समाजको विकास निर्माण र रुपान्तरणको प्रक्रियामा युवाहरुलाई समेट्दै विकृति विसंगतिमुक्त समाज निर्माण अभियान अन्तर्गत चालू आर्थिक वर्षमा हेटौंडा उप–महानगरपालिकाका १५ वटा वडाहरुमा बृहत युवा भेला आयोजना गरी वडा स्तरीय युवा क्लब गठन गर्ने कार्यसमेत सम्पन्न भइसकेको छ।
विकास निर्माण र सामाजिक परिचालनमा नागरिकको सहभागितालाई प्रभावकारी बनाउन यस उप–महानगरपालिकामा टोल विकास संस्था गठन, क्षमता विकास र परिचालनको कार्य विगत वर्षदेखि नै हुँदै आएकोमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म विभिन्न वडामा नयाँ थप ४१ वटा टोल विकास संस्था गठन भई टोल विकास संस्थाको कुल संख्या ३ सय २६ पुगेको र २५ वटा टोल विकास संस्था हाल दर्ता प्रक्रियामा रहेका छन्।


























