काठमाडौं, असार १२ । परराष्ट्रमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले भारत आफैँ सीमा समस्या समाधानका लागि वार्तामा बस्न नचाहेको बताएका छन्। शुक्रवार बसेको पार्टीको स्थायी कमिटिको बैठकमा मन्त्री ज्ञवालीले नेपालले आग्रह गर्दापनि भारत आफैँ वार्तामा बस्न चाहिनरहेको बताए।
नेपालले वार्ताका लागि तीनपटक भारतलाई प्रस्ताव पठाएको मन्त्री ज्ञवालीले बैठकमा जानकारी गराएका छन्।
“नोभेम्बर पहिलो साता भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेपछि त्यस विषयमा आपत्ति जनाउँदै भारतलाई समस्या समाधानका लागि तीनपटक वार्ताका लागि प्रस्ताव गर्यो। पहिलोपटक नोभेम्बरमा, दोस्रो पटक डिसेम्बरमा र तेस्रोपटक फेब्रुअरीमा। तर, भारतले कुनै जवाफ नै पठाएन।” उनले भने।
बैठकमा बोल्दै मन्त्री ज्ञवालीले आफुहरु वार्ता गर्न पटक पटक आग्रह गर्दापनि भारतले वास्ता नगरेको गुनासो गरेको छन्।
पछिल्लो समय चीनले विभिन्न ठाँउमा नेपालको भूमी अतिक्रमण गरेको भन्ने समाचार बाहिरीरहेको बेला मन्त्री ज्ञवालीले चीनसँग कुनैपनि समस्या नभएको बताएका छन्। आगामी दिनमा कुनै समस्या आएमा पछिका दिनहरुमा संवाद गरि समाधान खोजिने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

























