हेटौडा । एकसाता अघि भान्सा कोठामा मृत भेटिएकी सुस्मिता थापाको हत्यामा परिवारकै संलग्नता देखिएको निष्कर्षमा पुगेको छ। एकसाता लामो अनुसन्धानपछि प्रहरीले घटनामा परिवारका सदस्य मध्ये मृत सुस्मिताको ससुरा र नन्दको संलग्नता देिखएकाे निर्क्याैल गरेकाे हाे। घटना भएको दिन घरमै रहेका ससुरा ५८ वर्षका प्रकाश थापा र नन्द २३ वर्षकी सीता थापाले भान्सा कोठामा नै लोहोरोले हानेर हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
प्रहरी उपरीक्षक सुशीलसिंह राठाैरका अनुसार हत्याको दिन खाना खाने समयमा नन्द भाउजु र ससुराबीच आपसी विवाद भएकाे थियाे। त्यसपछिकाे घटना हत्यामा परिवर्तन भएकाे प्रहरीले जनाएकाे छ। ‘घटना निकै क्रुर ढंगबाट भएको देखिन्छ,’ प्रहरी उपरीक्षक राठाैरले भने, ‘मृतकको ससुराको नियतमा खराबी देखिन्छ। बुहारी माथि ससुराको व्यवहार हेर्दा लकडाउनको ३ महिना कसरी काटिन् हाेला भन्ने प्रश्न पनि आउँछ।’
मृतक श्रीमानको ६ महिनाको कामको लागि गत चैत्रमा माइतबाट हेटौंडा आएकी सुस्मिता लकडाउनका कारण अड्किएको प्रहरीको भनाइ छ। निकै लामो समयदेखिको विवादले हत्याको रुप लिएको प्रहरी उपरीक्षक राठाैरले बताए। सुस्मिताका श्रीमान करिब ६ महिनाअघि सवारी दुर्घटनामा मृत्यु भएपछि परिवारमा समस्या देखिएको प्रहरीकाे अनुसन्धानले देखाएको छ। श्रीमानको मृत्युपछि बुहारीलाई परिवारका सदस्यले निकै तनाब दिएको पाइएकाे प्रहरी उपरीक्षक राठाैरले बताए।
राठाैरका अनुसार घटनामा परिवारको संलग्नता पुष्टि हुने आधार भेटिएकाले अब बाहिरका कोही संलग्न छन् कि भन्ने आधारमा अनुसन्धान प्रकृयालाई फराकिलो बनाइएकाे छ। घटनाको प्रकृतिले अनुसन्धालाई फराकिलो बनाउनु पर्ने अवस्था आएको उनले बताए। घटनामा संलग्न रहेका ससुरा र नन्दलाई भने ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।
मृत भेटिएकी सुस्मिताको टाउकोको पछिल्लो भागमा गहिरोे चोटका कारण आँखा फुटेको पोष्टमार्टम रिपोर्टले देखाएको छ। उनको घाँटी र अन्य भागमा समेत चोट देखिएको प्रहरीले जनाएको छ। मृतक थापाको शव घरको भान्छा काेठामा भित्रबाट चुकुल लगाएको अवस्थामा भेटिएकाे थियो। भान्छाको डाइनिङ टेवलमा खानाको लागि पस्केर राखेकाे रोटी र तरकारीसहित अन्य खानाका परिकार रहेको अवस्थाले पनि खाना खाने समयमा घटना भएको प्रहरीले अनुमान गरेको छ।


























