हेटौंडा । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवधिमा मकवानपुरमा चोरी तस्करी गर्नेको संख्या घट्दै गएको पाइएको छ। गत चैत ११ गतेबाट सुरु भएको लकडाउनको करिब ३ महिना अवधिमा मकवानपुरमा आत्महत्या गर्नेको संख्या भने बढ्दो अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
लकडाउनको कारण दैनिक आम्दानीको स्रोत गुमाउँदा अधिकांश ज्याला मजदुरी गर्ने मान्छेहरु भोकमरी खप्न नसकेर आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको प्रहरी तथ्याङकले देखाएको छ। मकवानपुरमा चालू आर्थिक ०७६/०७७ को पछिल्लो ३ महिनाको अवधिमा चोरी घटना जम्मा २ वटा रहेका छन् । तीमध्ये एकजना रिर्चाज कार्ड चोरी गरेको आरोपमा र अर्को अटो चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरु दुवैलाई बैशाखमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए।
लकडाउनको अवधिमा अपहरण गर्नेको संख्या भने शुन्य छ। एक ठाउँबाट अर्को ठाउँमा आवाजावत नभएपछि अपहरण सम्बन्धी घटनाको संख्या घटेको हो। सवारी साधनको चहलपहल नभएको कारण पनि अपहरण कम भएको प्रहरीले जनाएको छ। त्यस्तै चालू आर्थिक वर्षको ३ महिनाको अवधिमै मकवानपुरमा २ जनाको हत्या भएको छ। दुवै हत्या गत बैशाख महिनामा भएका हुन्। जसमध्ये हेटौंडा ४ मा ससुरा र नन्दले बुहारीलाई गरेको हत्या र मकवानपुर गढी गाउँपालिकामा ज्वाँईले सासुलाई गरेको हत्या हुन्।
मकवानपुरमा लकडाउनभन्दा पहिला सरदर दैनिक ३ जना लागूऔषध ओसारप्रसार गरेको आरोपमा पक्राउ पर्थ्यो भने अहिले यो संख्या पनि पहिलाको तुलानामा कम भएको उनको भनाइ छ। लकडाउनको अवधिमा मकवानपुरमा आगूऔषध सम्बन्धी २ जनालाई नियन्त्रणमा लिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालू आर्थिक वर्षमा जेठ मसान्तसम्मको तथ्यांक अनुसार चैत्र महिनामा घरेलु हिंसाका ९ वटा घटना दर्ता गरेको छ। बैशाख महिनामा १३ वटा उजुरी दर्ता भएको छ। जेठ महिनामा १२ जनाको उजुरी दर्ता भएको छ। ३० वटा घटनामा १८ वटा घटना फर्छ्यौट भइसकेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
लैंगिक हिंसा सम्बन्धी चैत्र महिनामा ५ जनाले उजुरी दर्ता गरेका छन्। बैशाख महिनामा ७ जनाले उजुरी दर्ता गरेकोमा जेठ महिनामा ७ जनाको उजुरी दर्ता भएको हो। १८ वटा घटनामा १० वटा घटना फर्छ्यौट भइसकेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।


























