हेटौंडा । वागमती प्रदेशको १० जिल्लामा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। गत वर्षबाट देखिन थालेको फौजी किराको प्रकोप यसवर्ष मकैबालीसहित अन्य उत्पादनमा पनि देखिन थालको हो। प्रदेशको उपत्यकाबाहेक अन्य क्षेत्रमा किराको प्रकोप बढ्दोरुपमा देखिएको कृषि विकास निर्देशनालय प्रदेश कार्यालयले जनाएको छ। गतवर्ष केही जिल्लामा रोगको प्रकोप फैलिएकाे जनाकारी आए पनि यसवर्ष प्रदेशका १० जिल्लामा लगाइएका मकैबाली, तरकारी र अन्य उत्पादनमा समेत फौजीको प्रकोप देखिएको निर्देशनालय हेटौंडाका बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठले बताइन्। उनले भनिन् ‘गतवर्ष प्रदेशको २/३ जिल्लामा रोग देखापरेको थियो, अहिले उपत्यकाबाहेक सबै जिल्लामा देखिएको छ।’
अघिल्लो मकैबालीको सिजनमा सिन्धुली, चितवन र रामेछाप जिल्लाका केही भागमा मात्र देखा परेको फौजीले मकैको गुबा खाएर बोट सुकाइदिने गरेको छ। कृषि विकास निर्देशनालयका अनुसार वागमती प्रदेशको सिन्धुली, रामेछाप, चितवन, मकवापनर, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, धादिङ र रसुवासहितको १० जिल्लाका मकैबालीमा रोग देखा परेको छ। मकै उम्रेसँगैको पहिलो चरणमा रोग देखा परेकाले कृषि प्राविधिकहरुलाई सम्बन्धित क्षेत्रमा पुगेर उपचारका विधिहरु गर्न/गराउन निर्देशनालयले निर्देशन गरिसकेको बताइएकाे छ।
गत आर्थिक वर्षमा फौजी किराले सबैभन्दा बढी सिन्धुलीमा मकैबाली नष्ट गरेको थियाे। अघिल्लो वर्ष सिन्धुलीमा मकैमा मात्र होइन, धानमा पनि फौजी किराको प्रकोप देखिएको थियो। कृषि विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशमा फौजी किराले ४ सय २५ हेक्टर जमिनमा लगाएको मकैबाली नष्ट गरेको थियो। वागमती प्रदेशमा १ लाख ९९ हजार १ सय २५ हेक्टरमा मकै खेती गरिएको छ। फौजी किराको प्रकोप २०७६ सालदेखि मात्र प्रदेशमा देखा परेको हो। मकवानपुर जिल्लाका १० वटै पालिकामा लगाइएको मकैबालीमा रोगकाे प्रकाेप देखा परेको छ।
रोग देखिएसँगै गाउँमा पुगेर कृषि प्राविधिकहरुले कृषकलाई उपचार विधि सिकाएको प्राविधिकहरु बताउँछन्। हेटौंडा उपमहानगरपालिकाका कृषि प्राविधिक रविन्द्र पौडेलले उपमहानगरपालिकाभित्रका सबै मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएको उनले बताए। रोग देखिएसँगै कृषककोमा गएर औषधि उपचारको विधि र प्रकृया सिकाउने काममा प्राविधिकहरु लागेको उनले बताए। फौजी किरा अधिकांश बालीमा लाग्न सक्ने बताइएको छ।
निःशुल्क धानको बीउ
यसैबिच धानको उत्पादन वृद्धि गर्न मनहरी गाउँपालिकाले कृषकलाई निःशुल्करुपमा धानको बीउ वितरण गरेको छ। मुल बीऊ र उन्नत जातको बीऊ गरी १५ टन धानको बीऊ निःशुल्क वितरण गरेको हो। मुल बीऊमा शतप्रतिशत र उन्नत जातको बीऊमा ७५ प्रतिशत अनुदान दिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए। खाद्यान्न उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषकहरुलाई अनुदानमा धानको बीऊ उपलब्ध गराएको उनले बताए।


























