काठमाडाैं । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र गुल्मीमा १८/१८ तथा पाल्पा र रुपन्देहीमा १७/१७ जना सङ्क्रमित थपिएका छन् । यस्तै बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा नौ, धादिङ, प्यूठान र मोरङमा आठ/आठ, बर्दिया, रौटहट र भक्तपुरमा सात/सात, बारा र दाङमा चार/चार, रामेछापमा तीन, सुनसरीमा दुई, काठमाडौँ, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा एक/एकजना थपिएका छन् ।
शनिबार ४९ महिला र २८२ पुरुष गरी कूल ३३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोभिड–१९ को सङ्क्रमणबाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएको मन्त्रालयले जनाएको छ। २०० बढी सङ्क्रमित हुनेको जिल्लाको सङ्ख्या पाँच र १०० भन्दा बढी सङ्क्रमित हुनेको सङ्ख्या १६ पुगेको छ। कूल ७७ मध्ये ७४ जिल्लामा सङ्क्रमण फैलिएको छ। रसुवा, ओखलढुङ्गा र मुस्ताङमा भने सङ्क्रमण देखिएको छैन।
नेपालमा हालसम्म ८ हजार ६०५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। तीमध्ये २२ जनाकाे उपचारकै क्रममा मृत्यु भएकाे छ भने एक हजार ५७८ जना निकाे भएर घर गइसकेका छन्। बाँकीकाे भने उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ। हालसम्म उपचाररत रहेका कुनै पनि काेराेना संक्रमित गम्भीर खालकाे नरहेकाे मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए।


























