बेइजिङ, असार ३ । चीनको केन्द्रीय राजधानी बेइजिङमा कोरोनाभाइरसविरुद्धको लडाइँलाई फेरि सशक्त बनाउन लागिएको छ।
पछिल्लो समयमा अनपेक्षितरुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो।
उच्च सतर्कता अपनाउनेक्रममा बेइजिङमा रहेका दुईओटा विमानस्थलबाट हुने सयौं आन्तरिक उडान रद्द गरिएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार करिब एक हजार २५५ ओटा आन्तरिक उडान रद्द भएका हुन्।
बेइजिङमा अहिलेसम्म ९० हजारजनाको कोरोना परीक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन्।
बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघिदेखि नै बन्द हुँदै आएको थियो। त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ।
त्यसैगरी, राष्ट्रिय रेलमार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ। टिकट काटिसकेको छ भनेपनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाइ छ।
बुधबारदेखि माध्यमिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाइन अध्ययन–अध्यापनमा जोड दिन लगाइएको छ। कलेजका शंकास्पद विद्यार्थीहरुलाई भने कलेजमै फिर्ता गरिएको छ।
बेइजिङका सार्वजनिकस्थलहरुमा आवत–जावत गर्न पनि कडाइ गरिएको जनाइएको छ। रासस/पीटीआई


























