काठमाडौं, असार ३ । नेपाल नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको विधेयक सहमतिका लागि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सरकारलाई पाँच दिनको समय दिएको छ।
वैवाहिक अंगीकृतको विषय नसुल्झिँदा लामो समयदेखि यो विधेयक समितिमै अल्झिएको छ। आज बसेको समिति बैठकको सुरुमै गृहमन्त्री रामबहादुर थापाले विधेयक संशोधनका लागि थप छलफल आवश्यक रहेको भन्दै समय मागेका थिए।
समिति सभापति शशि श्रेष्ठले सहमतिका लागि भन्दै सरकारलाई ५ दिनको समय दिएकी हुन्। उनले अहिलेकै जारी अधिवेशनमा संसदमा विधेयक जाने गरी आइतबारभित्र सहमति जुटाउन सरकारलाई निर्देशनसमेत दिइन्।
यता कांग्रेस पदाधिकारी बैठकले नागरिकता ऐन २०६३ मा रहेको वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी व्यवस्था नै कायम गर्नुपर्ने निर्णय गरेको थियो । कांग्रेस पुरानै अडानमा रहेकाले विधेयक अलपत्र परेको हो।
Facebook Comments


























