पर्वत, जेष्ठ ३२ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ।
पहिरोले पुरिएर बेपत्ता भएका ६ जनामध्ये अरू दुई जनाको पनि शव फेला परेको छ।
शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव यसअघि नै फेला परिसकेको थियो। बाँकी २ वटा शव कसको भन्ने खुलाइएको छैन।
अरू ४ जना अझै वेपत्ता भएका छन्। उनीहरुको स्काभेटर प्रयोग गरी खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए।
स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए।
राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए। अहिले बिहानबाट पुनः उद्धार शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए।
शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो।
पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन्। स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ। वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रमुख गुरुङले जानकारी दिए।

























