चितवन, जेष्ठ ३१ । पूर्वी चितवनको कालिका नगरपालिकाले विपन्न चेपाङका लागि घर बनाउन लागेको छ। पहिलो चरणमा वडा नं ३, ७, ८, ९, १० र ११ का ३९ वटा विपन्न चेपाङ परिवारका लागि घर बनाउन लागेको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार दुई कोठा, भान्छा र शौचालय भएको टिनले छाएका घर बनाउन लागेको हो। उच्चस्तरको ब्लकले बारेर बनाउन लागिएको एउटा घरको लागत रु चार लाख ९४ हजार ४०० हुने श्रेष्ठको भनाइ छ। असारसम्ममा काम सक्ने गरी प्रक्रिया अघि बढाइएको छ। दोस्रो चरणमा आउँदो आर्थिक वर्षमा थप घर बनाइनेछ। उनले भने, “लकडाउन नभएको भए करिब ९५ घर बनाउँथ्यौँ।” बाँकी अर्को वर्ष बनाउने गरी बजेटलाई क्रमागतरूपमा राखिएको उनको भनाइ छ।
घर निर्माणका क्रममा सामग्री नपुग्ने ठाउँमा ढुवानीमा घरधनीलाई श्रमदान गर्न अनुरोध गरिएको छ। नगरपालिकाले लाभग्राहीका लागि मापदण्ड तयार गरी छनोट प्रक्रिया अघि बढाएको थियो। हाल प्रयोग रहेको घरको क्षेत्रफल, प्रतिव्यक्ति वर्गफिट, घरभित्रको भुइँ, घरको गारो, घरको छानो, जग्गाको स्वामित्वलगायतका मापदण्ड राखेर सबैभन्दा न्यून अवस्थामा घर भएकालाई छनोट गरिएको हो। त्यस क्षेत्रका चेपाङ समुदायको घर जीर्ण अवस्था र बस्न लायक नदेखिएपछि नगरपालिकाले क्रमशः घर बनाउने योजना अघि सारेको हो। रासस


























