चितवन, जेष्ठ ३० । चितवनमा पहिलोपटक जडीबुटी तेल प्रशोधन उद्योग स्थापना भएको छ। जिल्ला जडीबुटी सहकारी सङ्घले रत्ननगर नगरपालिका–११ मङ्गलपुरमा उद्योग स्थापना गरेको हो।
उद्योगको बिहीबार वाग्मती प्रदेशका सांसद कृष्ण खनालले उद्घाटन गरे। करिब ४० लाखको लगानीमा स्थापना गरिएको उद्योगले वनस्पतिबाट निस्कने सबै तेल उत्पादन गर्ने जिल्ला जडीबुटी सहकारी सङ्घका अध्यक्ष कुलप्रसाद देवकोटाले जानकारी दिए। उद्योगमा प्रशोधन मेसिनसँगै सङ्कलन केन्द्र स्थापना गरिएको छ। उद्योग नहुँदा चितवनमा उत्पादन भएको जडीबुटी बारा जिल्लामा निर्यात गरिएको थियो। उद्योग स्थापनापश्चात जिल्लामा वार्षिक दुई हजार लिटर तेल उत्पदन गरिने अध्यक्ष देवकोटाले बताए।
उद्योग स्थापनाका लागि केन्द्रीय वन विभागले रु तीन लाख ६० हजार सहयोग गरेको छ। अन्य रकम सहकारी आफैँले उठाएका छन्। चितवनमा ५० किसान जडीबुटी खेतीमा आबद्ध छन्। कतिपय सहकारी आफैँले पनि जडीबुटी खेती गरेका छन्। भरतपुर र रत्ननगरका विभिन्न क्षेत्र, सामुदायिक वन र कवुलियती वनमा जडीबुटी खेती गरिएको छ। चितवनमा मेन्था, सिटोमेला, क्यामामाइल, लेमन ग्रास, तितेपातीलगायतका जडीबुटी उत्पादन हुने गरेको छ। एउटै सिजनमा मेन्था १० टन, सिटोमेला ३० टन उत्पादन भएको जडीबुटी सङ्घले जनाएको छ।
उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, केन्द्रीय जडीबुटी सङ्घका अध्यक्ष ईश्वरी पाण्डेलगायतको उपस्थिति थियो। रासस


























