काठमाडौं, जेष्ठ २९ । करीब तीन महिना लामाे लकडाउन कायमै रहेका बेला सरकारले केही क्षेत्रमा भने खुकुलाे गरेकाे छ।
बुधबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले उद्याेग व्यापार, व्यावसाय तथा पसल सञ्चालन गर्ने निर्णय गरेकाे छ।
मन्त्रिपरिषद्का निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउनमा केही क्षेत्रमा खुकुलाे गरिए पनि सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने बताए।
उनका अनुसार मन्त्रिपरिषद्ले उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्रका निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने निर्णय गरेकाे छ भने रेस्टुरेन्टबाट खानेकुरा लैजान पाइने (टेक अवे सर्भिस) छ। त्यस्तै, पठनपाठन हुने छैन तर शिक्षण संस्थाका कार्यालय सञ्चालन गरिनेछ।
तर सकरकारले केही यस्ता क्षेत्र निर्धारण गरेकाे छ जुन लकडाउनकाे अवधिमा सञ्चालन गर्न पाइन् छैनन्।
बन्दै नै रहने क्षेत्र
(क) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र)
(ख) अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान
(ग) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत
(घ) सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार
(ड) सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन
(च) सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल
(छ) सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना
स्पा, सैलुन तथा ब्युटी पार्लर
(झ) स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्ल
(अ) सपिङ मल
(ट) समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति
(ठ) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
(ड) यात्रुबाहक सार्वजनिक सवारी साधन (पर्यटक सवारी साधनसमेत)
(ढ) काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा
सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी
साधन बाहेक अन्य निजी सवारी साधन ।
भाेलिदेखि खुल्ने क्षेत्रहरु
-सबै प्रकारका कृषि र पशुपन्छी व्यवसाय (उत्पादनदेखि विक्री वितरणसम्मका सबै
श्रृङ्खला)
– उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर
-सबै प्रकारका ढुवानी
– साइकल र मोटरसाइकल (चालक मात्र रहने गरी)
– काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा
सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी
साधन (चालकबाहेक थप २ जनासम्म मात्र सवार हुने)
-पैदल आवागमन
-फोहरमैला व्यवस्थापन
-विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाकसम्बन्धी सेवा
-बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा
-नर्सरी र बनजन्य उद्यम
-विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत
-निर्माण कार्य (निजीसमेत)
-नदी तथा खानीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी र बिक्रीवितरण
-रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा
-क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन
– सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका
कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र
दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन गर्ने)
-सार्वजनिक तथा जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवाप्रदायक
कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधन
(सीटको एक लहरमा एक जना यात्रु मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रूपमा
मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, सवारी साधनलाई दैनिक
निसंक्रमित गर्ने)


























