काठमाडौं, जेष्ठ २७ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महामारीका कारण अवरुद्ध भएको परीक्षामा भएको अन्योललाई सरकारले तत्काल स्पष्ट पार्ने बताएका छन्।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले कक्षा १०, ११, १२ को परीक्षा, विश्वविद्यालयका विभिन्न परीक्षा र सीटीईभीटीका परीक्षाका सम्बन्धमा भएको अन्योललाई सरकारले छिटै स्पष्ट पार्ने बताएका हुन्।
त्यस्तै विद्यालय तह, स्नातक र स्तनातकोत्तरलगायतका सबै तहका अन्तिम वर्ष र सेमेस्टारका परीक्षा केही समय कुरेर भए पनि उपयुक्त समयमा गर्ने उनले बताए। “हाल पहिलो समेस्टर पढाइ सकेकालाई परीक्षा नलिइकन पनि अर्को सेमेस्टरमा लगेर पढाइ सुरु गर्ने र उपयुक्त समयमा परीक्षा लिने। शैक्षिक सत्र क्षति हुन नदिनेतर्फ अन्तिम गृहकार्य भइरहेको छ,” उनले भने।
परीक्षाका सम्बन्धमा विद्यार्थी र अभिभावकमा रहेको अन्योल अब धेरै समय नरहने उनले बताए।
त्यस्तै, उनले वैकल्पिक रुपबाट शिक्षा सिकाई निर्देशिका जारी गरिएको र परिवेशअनुकूल हुने गरी सिकाइ हुने गरी गृहकार्य भइरहेको पनि बताए।


























