नवलपरासी, जेष्ठ २६ । बर्दघाट सुस्तापश्चिममा पछिल्लो पटक बाबुछोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
पाल्हीनन्दन गाउँपालिका– १ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए। सङ्क्रमित बाबुछोरी केही दिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका थिए।
उनीहरुको यसअघिको आरडिटी परीक्षणमा पनि नतिजा पोजेटिभ आएको थियो। स्वाब सङ्कलन गरी परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालमा पठाइएकामा उनीहरुको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।
योसँगै पाल्हीनन्दनमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ। नवलपरासी बर्दघाट सुस्तापश्चिम जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २१ पुगेको छ।
यस्तै संक्रमणमुक्त हुनेको सङ्ख्या तीन पुगेको छ। प्रतापपुर र सुस्ता गाउँपालिकाका तीन सङ्क्रमित कोरोनामुक्त भएका हुन्।


























