काठमाडौं, जेष्ठ २५ । डा. विकास देवकोटाले अब आफू स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेबारीमा नरहेको औपचारिक जानकारी दिएका छन्।
मन्त्रालयको नियमित प्रेस बिफ्रिङको क्रममा उनले जिम्मेबारी हेरफेर भएकोले अबदेखि लाइभ प्रसारणमा समेत आफू उपस्थित नहुने जानकारी दिए।
आइतबारको नियमित प्रेस बिफ्रिङको अन्त्यमा उनले भने, ‘मेरो जिम्मेबारी हेरफेर भएको छ। प्रवक्ताको रुपमा अब म रहने छैन।’
उनले मन्त्रालयको प्रवक्ताका रुपमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
‘माननीय मन्त्रीज्यूसहित मेरो टिमका सबै साथीहरु र मिडियाकर्मीलाई पनि धेरै धेरै धन्यवाद। फोन नउठेको गुनासो यहाँहरुले धेरै गर्नुभएको थियो। परिस्थिति नै त्यस्तो थियो भनेर बुझिदिनुहोला’, डा. देवकोटाले भने।
उनले आफूले सुरु गरेको नियमित प्रेस बिफ्रिङ भने सुचारु नै रहने जानकारी दिए।
‘हामीले सुरु गर्यौँ तर यो नियमित नै रहन्छ, नयाँ प्रवक्ताज्यूलाई पनि सहयोग गरिदिनुहोला। लाइभमा बाहेक अन्य हिसाबले यहाँहरुसँग म जोडिने नै छु’, उनले भने।
कोरोना महामारी सुरु हुनुअघिदेखि नै स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएका डा. विकास देवकोटालाई हटाएर उनको ठाउँमा डा. जागेश्वर गौतमलाई ल्याइएको छ।
स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको हो। गौतम यसअघि प्रसूति गृहका प्रमुख थिए।
डा. देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।


























