पाकिस्तान, जेष्ठ २४ । पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि त्यहाँको सरकारले आउँदो सोमबारदेखि लकडाउन खोल्ने भएको छ।
प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन्। प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताएकाहुन्।
लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमबर्गीय तथा श्रमजीवी वर्गको अवस्था नाजुक बन्नुका साथै देशको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने बताए। त्यसैले त्यहाँका अधिकांश शहरहरुका साथै देशका प्रमुख केन्द्र तथा बजार पसलहरु पनि खुल्ने भएको बताइएको छ। प्रधानमन्त्री खानले शुक्रबार यस कुराको जानकारी दिएका थिए।
पाकिस्तानमा पछिल्लो समयमा ४ हजार ७ सय ३४ जना सङ्क्रमित थपिएको शनिबार बिहान जानकारी दिइएको छ। ती पछिल्लो समयमा थपिएका सङ्क्रमितसहित यहाँका सङ्क्रमितको संख्या ९३ हजारभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यहाँ सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ९३५ जना पुगेको बताइएको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरुले यो भाइरसबाट गएको २४ घन्टामा मात्र ९७ जनाको ज्यान गएको बताएका छन्।
त्यहाँका ३२ हजार जनाभन्दा बढीलाई निको भएको बताइएको छ। त्यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो। त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो। एजेन्सी


























