काठमाडौं, जेष्ठ २४ । सपरिवारसहित गएको चार दिनअघि कोरोना भाइरसका कारण जारी बन्दाबन्दीका बीच भारतबाट नेपाल आएकी अभिनेत्री मनिषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अहिले राजधानीको एक होटलमा क्वारेन्टाइनमा बसेकी उनले आफू र परिवारको कोरोना परिक्षण गराएकी थिइन्। परिक्षणमा उनीसहित परिवारको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त छ।
विदेशबाट आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार मनिषा घर नगई आफ्ना बुवाआमासँगै होटलमा बसेकी छन्। क्वारेन्टाइनमा रहेका कारण उनले निश्चित आफन्तबाहेक अरूसँग भेट गरेकी छैनन्। गएको केही महिनादेखि माता पितासँग भारतको मुम्बईमा बस्दै आएकी अभिनेत्री मनिषा भैरहवा (बेलहिया) नाका हुँदै नेपाल भित्रिएकी थिइन्।
नेपाल सरकारले सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्साको समर्थनमा बोलेपछि भारतीय मिडिया मनिषाको विरोधमा उत्रिएका थिए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई रिट्विट गर्दै मनिषाले तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादको लागि आशावादी रहेको बताएकी थिइन्।
उक्त ट्विट अभिनेत्री मनिषा कोइरालाले चीनको इशारामा गरेको भन्दै भारतीय भिडियाले उनलाई तुच्छ शैलीमा गाली गलौच गरेका थिए। एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार समेत प्रशारण गरेको थियो । यद्यपि, उनको नेपालमा भने वाहवाही भएको थियो।


























