जेष्ठ १९ । भारतमा ६८ दिनदेखि जारी लकडाउन आजदेखि केही खुकुलो भएको छ।
संक्रमित र मृतकको संख्या बढ्दै गए पनि भारतले ६८ दिन लामो लकडाउन क्रमश खुकुलो पार्दै हटाउँदै जाने निर्णय गरेको छ।
यद्यपि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या भने घटेको छैन।
भारतमा लगातार तेस्रो दिन २०० भन्दा बढीको मृत्यु भएको छ। आइतबार त्यहाँ २२३ जनाको मृत्यु भएको छ। यसअघि शनिबार २०५ र शुक्रबार २६९ जनाको मृत्यु भएको थियो।
भारतमा तीन दिनदेखि दैनिक संक्रमित पनि आठ हजारमाथि भेटिएका छन्। आइतबार आठ हजार ७८२ नयाँ संक्रमित फेला परेका थिए। शनिबार आठ हजार ३३६ र शुक्रबार आठ हजार १०५ संक्रमित फेला परेका थिए।
संक्रमितको संख्या १ लाख ९० हजार ६०९ र मृतक संख्या ५ हजार ४०८ पुग्दा पनि सरकारले बन्दाबन्दी क्रमशः हटाउँदै जाने निर्णय गरिसकेको छ।
लकडाउन खुकुलो बनाइदै लाने क्रममा पहिलो चरणलाई ‘अनलक १’ नाम दिइएको छ। आजबाट ‘इ पास’ र पूर्व स्वीकृति नलिइ एक जिल्लाबाट अर्को जिल्ला आवातजावत गर्न पाइने छ।


























