नेपालगञ्ज, जेष्ठ १९ । बाँकेमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो।
आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो। नेपालगञ्जको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार ११ पुरुष र १ महिलाको मृत्यु भएको हो।
घाइते २० जना पुरुष र एक महिलाको भेरी अस्पतालमै उपचार भइरहेको छ। घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए। नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो। ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राति सवा १२ बजे हाइस दुर्घटनामा परेको हो। मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ। मृतकको सनाखत हुन सकेकोछैन।


























