जेष्ठ १८ । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ।
खुर्शिद टिभीका प्रधान सम्पादक रफी सेद्दीकीले उक्त घटनामा टिभीका अरु छ जना कर्मचारी घाइते भएका जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
अफगानिस्तानका पूर्व प्रमुख कार्यकारी अधिकृत अब्दुल्लाह अब्दुल्लाहले ट्वीट गर्दै खुर्शिद टिभीको सवारी साधनमाथि भएको आक्रमणबाट आफू अत्यन्त दुःखित भएको बताएका छन् आतंकवादी यस कार्यको विस्तृत अनुसन्धान गर्न उनले सरकारी अनुसन्धान निकायहरुलाई अनुरोध पनि गरेका छन्।
अफगानिस्तानका राष्ट्रपति कार्यालयका प्रवक्ता सेदिक सेद्दीकीले पनि उक्त घटनाको निन्दा एवं भत्र्सना गरेका छन्।
उनले खुर्शिद टिभीमाथि भएको यस किसिमको आततायी र कायरतापूर्ण कार्यको अफगान सरकारले घोर भत्र्सना गर्दछ भनेका छन्। प्रवक्ता सेद्दीकीले अफगान सरकार संचार माध्यमको पक्षमा लगातार उभिइरहने बताएका छन्।
अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ। एजेन्सी


























