काठमाडौं, जेष्ठ १८ । संविधान संशोधन प्रस्ताव आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुँदैछ। गएको बुधबार सो प्रस्ताव प्रस्तुत हुने भनिए पनि अन्तिम समयमा आएर रोकिएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्न थप समय मागेपछि रोकिएको प्रस्ताव आइतबार प्रस्तुुत हुने भएको हो।
संसद सचिवालयले सरकारको परामर्शपछि निकालेको सम्भावित कार्यसूचिमा आइतबार सदनको पहिलो कार्य नै कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाय तुम्बाहाम्फेले संशोधन प्रस्ताव प्रस्तुत गर्ने रहेको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
कांग्रेसले भनेको छ, ‘१८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुराबाट बग्ने काली (महाकाली) पूर्वको भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। अतः नेपाल सरकारले लिम्पीयाधुरा, लिपुलेक र कालापानीको भू–भाग समावेश गरी नेपालको नक्सा सार्वजनिक गरेको र नेपालको संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावको पक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दललाई केन्द्रीय समितिको यो बैठक निर्देश गर्दछ।’
यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन समेत दिएको छ।
प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। संशोधन प्रस्ताव प्रस्तुत भएपछि शुक्रबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि छलफल सुरु हुनेछ।
सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो।
भारतले अतिक्रमण गरेको लिम्पिायधुरा, कुटी, गुञ्जी, नावी, कालापानीसहितको भूभाग समेटेर राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि सरकारले संविधानको अनुसूची पनि संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो।


























