काठमाडौं, जेष्ठ १३ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभाको लोगो फेरिएको छ। मंगलबारको बैठकको निर्णय अनुसार संघीय संसदको लोगो फेरिएको हो। संसदको नयाँ लोगोमा अद्यावधिक नेपालको नक्सा समावेश गरिएको छ।
लामो समयदेखि भारतीय पक्षको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको भू–भागलाई समावेश गरी नयाँ नक्सा जारी गर्ने प्रस्ताव गत जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो। सोही प्रस्ताव अनुसार गत जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले एक कार्यक्रमकोे आयोजना गर्दै नयाँ नक्सा सार्वजनिक गरेकी थिइन्। नयाँ नक्सामा ३ सय ३५ वर्ग किलोमिटर भू–भाग समावेश गरिएको थियो।
संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले संघीय संसदको लोगो र सांसदहरूले लगाउने लोगोमा अध्यावधिक नक्सा समावेश गर्ने निर्णय गरेको थियो।


























