काठमाडौं । सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ।
सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बगेको नदीलाई काली भनिएको छ। इतिहासकार प्राडा रमेश ढुङ्गेलका अनुसार लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बग्ने नदी नै काली भएको तथ्य र प्रमाणहरू प्रशस्त छन्।
प्रा.डा ढुङ्गेलले भने, ‘इतिहासका प्रशस्त प्रमाण र नक्साहरू छन्। सन् १९११ को भारतीय अभिलेख भर्खरै प्राप्त गरेको छु। त्यसमा काली नदी कुन हो भनेर त्यो क्षेत्रको स्पष्ट व्याख्या गरिएको छ।’
ब्रिटिस लाइब्रेरी, विश्वका अन्य मुलुकमा रहेका नक्सा, भारतीय भिलेखालयमा संरक्षित तथ्यहरूबारे चर्चा गर्दै उनले भने, ‘ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिपुलेकदेखि लिम्पियाधुरासम्मको त्यो क्षेत्र हाम्रो हो।’
उनले ब्रिटिस लाइब्रेरीमा छ वर्ष काम गर्दा महत्त्वपूर्ण ऐतिहासिक तथ्य र प्रमाणहरू अध्ययन गरेको चर्चा समेत गरेका छन्। गोरखापत्र दैनिकबाट


























