काठमाडौं, जेष्ठ ७ । प्रहरीले लकडाउनको समयमा काठमाडौंका विभिन्न स्थानबाट चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ।
लकडाउनको मौका छोपेर चोरीका घटना बढेपछि प्रहरीले निगरानी थालेको थियो।
महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त गौशालाबाट चोरी तथा लुटपाट घटना नियन्त्रण गर्न संयुक्त रूपमा खटिएको टोलीले चाबहिल भत्केको पुलबाट उनीहरूलाई पक्राउ गरेको हो।
सीसीटीभी फुटेजको आधारमा मोटरसाइकल पहिचान भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीबाट उम्कन उनीहरूले एपीवान टेलिभिजनबाट जारी भएको प्रेस कार्ड देखाएर पत्रकार भएको बताएका थिए। प्रहरीले शंका लागेर जाँच गर्ने क्रममा उनीहरूको साथमा चोरी भएका ल्यापटप, क्यामेरालगायत सामग्री फेला परेका थिए।
चोरी गर्ने युवकले एपीवान टेलिभिजनबाट अर्कै व्यक्तिको नाममा जारी भएको प्रेस पास आफ्नै भनेर पत्रकार भनी प्रहरीबाट उम्किन खोजेको देखिएको छ।
प्रहरीले पक्राउ परेका दुवैको साथबाट ५३ हजार रुपैयाँ नगद, तीन सय अमेरिकन डलर र दुई सय युआनसहित धारिलो हतियार पनि बरामद गरेको छ।
पक्राउ पर्नेमा सुनसरी घर भई काठमाडौं धुम्बाराही बस्ने २१ वर्षीय आश्रय रिजाल हिमाल भनिने हिमाल रसाइली र बारा घर भई हाल ओमबहाल काठमाडौं बस्ने २८ वर्षीय अली आलम मिया छन्।

























