काठमाडौं, जेष्ठ ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तेस्रो पटक पनि यथावत् राखेको छ। निगमले बजारमा इन्धनको माग न्यून रहेका कारण मूल्य समायोजन नगरेको हो।
निगम प्रवक्ता विनितमणी उपाध्यायले बजारमा पेट्रोलियम पदार्थको माग अत्यधिक न्यून छ भने कोरोनाका कारण विशेष परिस्थिति जारी रहेका कारण पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको जानकारी दिए।
भारतीय आलयल निगमले नेपाल निगमलाई पठाएको नयाँ खरिद मूल्य सूची अनुसार निगमलाई भारतबाट पेट्रोल खरिद गर्दा ५ रुपैयाँ ५६ पैसा बढी पर्नेछ। डिजेलको मूल्य भने २८ पैसा घटेर आएको छ।
निगमले यसअघि दुईपल्ट पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको थियो। भारतीय आयल निगमबाट मूल्य घटेर आएको भएपनि वैशाख ४ गते र वैशाख १९ गते निगमले पेट्रोलिम पदार्थको मूल्य यथावत् राखेको थियो। त्यसअघि पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको थियो जसको बिरोध व्यवसायीले गरेका थिए।


























