चितवन, जेठ १ । चितवनको भरतपुरमा परीक्षण गरिएका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार संकलन भएका ५३ वटा नमुनाको परीक्षण गर्ने क्रममा नवलपुर जिल्ला देवचुली नगरपालिका वडा नं. १२ का ४९ वर्षिय पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ। संक्रमित व्यक्तिको ‘ट्राभल हिस्ट्री’ बुझ्दा उनी भारतको कोलकत्ताबाट रक्सौल हुँदै नेपाल आएको बुझिएको छ।
कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा भरतपुरको कोरोना (विशेष) अस्थायी अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गराइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए। बुधबार परीक्षण भएका अन्य ५२ जनामा भने कोरोना भाइरसको संक्रमण नदेखिएको उनले बताए। यसअघि भरतपुरबाट बुधबार मात्रै कोरोना संक्रमित चितवनको राप्ती नगरपालिकाकी ६३ वर्षिया महिला निको भएर घर गएकी थिइन्। बिहीबार आएको रिपोर्टमा थप एकजनामा कोरोना भाइरस पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ।



























