काठमाडौं, बैशाख २७ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण दिनानुदिन फैलिँदै गएको छ। शुक्रबार साँझसम्ममा १०२ जनामा संक्रमण पुष्टि भएकोमा शनिबार बिहानै ७ जना नयाँ संक्रमति थपिएपछि संक्रमितको संख्या १०९ पुगेको छ।
नयाँ संक्रमितमध्ये उदयपुरका तीनजना, कपिलवस्तुका तीनजना र पर्साका एकजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित सबै बिरामी स्वास्थ्यकर्मीको सम्पर्क र निगरानीमा रहेको उनले बताए। नेपालमा हालसम्म पिसिआर परीक्षण गरिएका ७० हजार २३ वटा नमुनामध्ये १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।



























