चितवन, बैशाख २६ । चितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो पालिकाभित्र सञ्चालन हुने विकास निर्माणका काममा स्थानीय कामदारलाई प्राथमिकता दिनेभएको छ।
अध्यक्ष गीता गुरुङले यसका लागि आफ्नो क्षेत्रमा भएका मजदुरको तथ्याङ्क अद्यावधिक गर्न वडा कार्यालयलाई पत्राचार गरिसकेको जानकारी दिइन। त्यो तथ्याङ्क गाउँपालिकामा आएसँगै आफ्नो क्षेत्रमा के कस्ता र कति कामदार छन् पत्ता लाग्ने भन्दै उनले कामदारको क्षमताअनुसार काममा लगाइने जानकारी दिइन्।
पालिकाभित्र रहेका स्थानीय, प्रादेशिक र सङ्घीय आयोजनाका ठेकेदारलाई पनि स्थानीय कामदार प्रयोग गर्न आग्रह गरिएको उनले जानकारी दिइन्। उनले भनिन् “हाम्रो क्षेत्रमा काम गर्दा स्थानीयवासीलाई प्राथमिकतामा राखेर काम गर्नुहोस् भनेका छौँ।” यहीका कामदारले गर्न सक्ने कामका लागि बाहिरका कामदार ल्याउन नहुने उनको भनाइ छ।
लकडाउनसँगै विभिन्न क्षेत्रबाट फर्किएका कामदारलाई पुनः फिर्ता हुनुपर्ने अवस्था भएमा गाउँपालिकामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ। अध्यक्ष गुरुङका अनुसार विभिन्न निर्माणका योजना शुरु भएकाले ती कामदारलाई फर्काउनुपर्ने भएमा आवश्यक पहल गाउँपालिकाले गर्नेछ।
अन्य क्षेत्रमा काम गरेर हाल फर्किएका ५०० हाराहारी मजदुर रहेका छन्। उनका अनुसार गाउँपालिकाभित्रका आयोजनामा बाहिरबाट आएर काम गर्नेको सङ्ख्या एक हजारभन्दा बढी छ। सोही गाउँपालिका हुँदै पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक खण्डजस्ता ठूला सडक पर्छन्। हाल ती सडकमा पुल निर्माण, मर्मतसम्हार, बायो इञ्जिनीयरिङ जस्ता काम भइरहेका छन्।
यससँगै अन्य योजनामा पनि बाहिरका मजदुर कामका लागि आएका छन्। जिल्लाको एकमात्रै यस गाउँपालिकामा २७ हजार हाराहारीमा जनसङ्ख्या रहेको छ। जसमध्ये नौ हजारभन्दा बढी चेपाङ समुदाय छ। गाउँपालिकामा सातवटा वडा रहेका छन्। पालिकाको अधिकांश भाग पहाडी क्षेत्र पर्छ। स्थानीयवासी अधिकांश मजदुरीमा निर्भर छन्।
लकडाउनसँगै लक होला इञ्जिन !
लकडाउनमा सबै घरमा ‘लक’ भएकाछन्। यो सँगै आफ्ना सवारी पनि घरमै थन्किएका छन्। तर थन्किएका सवारीलाई समय समयमा सञ्चालन (स्टार्ट) नगर्दा सवारीको इञ्जिन पनि लक हुने सम्भावना हुन्छ।
विज्ञहरुले कम्तीमा हप्तामा एकपटक १० देखि १५ मिनेट सवारीलाई स्टार्ट गरेर राख्न सुझाव दिएका छन्।
देशभरका तराई, भित्री मधेश र पहाडी बजार क्षेत्रमा अधिकांश घरमा दुई वा चार पाङ्ग्रे सवारी साधन छन्। यसका अतिरिक्त उद्योग, कलकारखाना, प्रतिष्ठान, निर्माण कम्पनीमा यतिबेला सवारी साधन थन्किएर बसेका छन्। अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा आएका छैनन्। ती सवारीको ख्याल नगर्दा ठूलो नोक्सान हुने विज्ञहरु बताउँछन्।
सडक विभागका मेकानिकल इञ्जिनीयर जितेन्द्र सिंह हप्तामा एकपटक १० देखि १५ मिनेट सवारी साधन स्टाट गर्नुपर्ने बताए। उनले भने, “समय समयमा स्टाट गर्दा ब्याट्री डिस्चार्ज हुँदैन, मोबिलको गुण हराएर जाँदैन, इन्धन पम्प, एयर फिल्टर, इन्धन फिल्टरमा खराबी आउँदैन।”
लामो समय स्टार्ट नगरी राख्दा ब्याट्रीसहित इञ्जिनमा क्षति हुने उनको भनाइ छ। उनले भने, “लामो समय सवारी साधन थन्किँदा इञ्जिनको भल्वमा कार्बन जम्ने, सवारी स्टार्ट गर्न गाह्रो हुने, स्टाट भए पनि लाइनरमा दाग बसेर क्षमता कमजोर हुन्छ।” यसले इञ्जिन प्रभावित बनाएर पुनः मर्मत गर्नुपर्ने र ब्याट्री काम नलाग्ने अवस्थामा पुर्याउने उनले बताए।
घरमा लकडाउनमा बसिरहँदा आफ्नो सवारीको ख्याल गर्न सुझाव दिँदै उनले समय समयमा स्टाट गर्न र सरसफाइमा ध्यान दिन पनि आग्रह गरे। रासस


























