मुम्बई, बैशाख २६ । भोजपुरी अभिनेत्री तथा बिगबोस– २ फेम सम्भावना सेठलाई अस्पताल भर्ना गरिएको छ। उनका पति अविनाश द्विवेदीले सम्भावनाको इन्स्टाग्राम अकाउन्टमार्फत यसको लानकारी दिएका हुन्।
तर अविनाशले सम्भावनालाई के भएको हो र अवस्था कस्तो भन्नबारे केही खुलाएका छैनन्। टीभी र भोजपुरी फिल्म उद्योगका हस्तीहरूले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका छन्। उनीहरूले छिटो निको हुन शुभकामना पनि पठाएका छन्। एक सहकर्मीले लेखेका छन्, ‘सम्भावनाको स्वास्थ्य निकै बिग्रिएको छ। त्यसैले राति नै अस्पताल लैजानु परेको थियो। आज बिहान ६ बजे हामी फर्केका थियौं। यसैबीच उनको स्वास्थ्य फेरि बिग्रियो।’
सम्भावना भोजपुरी फिल्म उद्योगकी चर्चित अनुहार हुन्। उनले भोजपुरी उद्योगमा धेरै आइटम नम्बर दिएकी छन्। उनी शिल्पा शेट्टीद्वारा होस्ट गरिएको ‘बिगबोस’ सिजन– २ मा देखिएकी थिइन्। यसपछि उनी ‘बिगबोस–८’ मा च्यालेन्जरका रूपमा देखिएकी थिइन्। एजेन्सी


























