काठमाडौं, बैशाख २६ । आज विश्व रेड क्रस दिवस। रेडक्रसका संस्थापक हेनरी ड्युनाको एक सय ९२ औँ जन्म दिवसका अवसरमा विश्वभरि यो दिवस मनाइँदैछ।
दिवसका अवसरमा नेपालमा पनि कोभिड १९ तथा लकडाउनको बेला सेवा प्रवाहमा खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरी ताली बजाउनुहोस् भन्ने नाराका साथ मनाइँदैछ। यस वर्ष भिड नगरि फरक तरिकाले दिवस मनाइने तयारी छ।
स्वयंसेकहरुको सम्मानमा सामाजिक सञ्जालमा तालीको सङ्केत दिने, अनुभवका कथा र सन्देश प्रकाशन र प्रसारण गर्ने तथा बिरामीलाई फलफुल वितरणजस्ता क्रियाकलाप गरिने रेड क्रसले जनाएको छ। नेपाल रेडक्रसले ताली बजाउनुहोस् विषयमा गरेको फोटो प्रतियोगितामा अहिलेसम्म दुई सयभन्दा बढी तस्वीरहरु प्राप्त भएको सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए।
रेड क्रसको सङ्गठन अहिले एक सय ९२ देशमा छ। अहिले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्यमा साझा अवधारणा बनाइ अभियान सञ्चालन भएका छन्। विश्वभर रेडक्र सका एक करोड ३७ लाख स्वयंसेवकहरुले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्यलगायतका काम गर्दै आएको रेड क्रसले जनाएको छ।


























