चितवन, बैशाख २३ । विश्व महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसबाट संक्रमितकाे संख्या ३६ लाख ५७ हजार नाघेको छ। जसमध्ये १२ लाखभन्दा बढी संक्रमित उपचारपछि निको भएका छन्। यो संख्या जम्मा संक्रमितको ३३ प्रतिशत हो भने उपचार सकिएको संख्याको ८३ प्रतिशत हो।
वर्ल्डोमोटर डट इन्फोका अनुसार संसारभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख ५२ हजार नाघेको छ। यो संख्या जम्मा संक्रमितको करिब ७ प्रतिशत हुन आउँछ भने निको हुने र मृत्यु भएका ‘क्लोज केस’को करिब १७ प्रतिशत हुन्छ। संक्रमणको शुरुवाती अवस्थामा २१ प्रतिशत रहेको ‘क्लोज केस’ को मत्युदर पछिल्लो समय घट्दै गएको छ।
गम्भीर अवस्थामा रहेका संक्रमितको दर पनि घटेर अहिले २ प्रतिशतमा सीमित छ। हाल विश्वभर ४९ हजार ६ सय ४४ जना गम्भीर प्रकृतिका संक्रमित छन्। संक्रमितमध्ये निको हुने र मृत्यु भएकाको अन्तर १४ लाख ५३ हजार बढी छ।
हाल विश्वभर २१ लाख ९३ हजार ८ सय १९ जना संक्रमित अवस्थामै छन्। सबै सङ्क्रमितको उपचार सकिने हो र गम्भीर अवस्थाका सबै बिरामीको मृत्यु हुने हो भने यसको दर ८ प्रतिशतको आसपास हुन आउँछ र ९२ प्रतिशत बिरामी निको भएर घर फर्किने छन्।
तीमध्ये नेपालमा मात्रै संक्रमितको संख्या ८२ पुगेको छ। करिब साढे ६४ हजार जनामा काेराेनाकाे परीक्षण गर्दा ८२ जनामा संक्रमण देखिएकाे हाे भने १६ जनाको उपचारपछि निको भएका छन्। उपचाररत बिरामीको पनि अवस्था सामान्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।


























