बैशाख २२ । जापान सरकारले देशमा लगाएको संकटकाल मे अन्त्यसम्म बढाउने तयारी गरेको छ। जापानको सार्वजनिक प्रसारणकर्ता एनएचकेका अनुसार प्रधानमन्त्री सिन्जो अबेले सोमबार यसको घोषणा गर्दै छन् ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार जापना सरकारले कोरोनाभाइरस संक्रमण रोकथामका लागि नयाँ तरिकाका प्रतिबन्ध तथा उपायहरुबारे पनि घोषणा गर्ने सम्भावना बढी छ।
जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १५ हजार आसपास छ। त्यहाँ कोभिड १९ का कारण ५ सयभन्दा धेरैको ज्यान गएको छ। एनएचकेका अनुसार सोमबार प्रधानमन्त्री अबेले गर्ने सम्बोधनमा संकटकाल किन बढाइँदैछ भन्नेबारे पनि चर्चा गरिनेछ।
जापनाले पहिलो पटक ७ अप्रिलमा टोकियो तथा अन्य कयौँ प्रान्तमा ६ मेसम्मका लागि पहिलो पटक संकटकाल घोषणा गरेको थियो। कोरोनाभाइरसका कारण भएको व्यवसायिक मन्दीका कारण विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान अहिले ठूलो समस्यामा परिसकेको छ। एजेन्सी


























