काठमाडौं, बैशाख २१ । आइतबार साँझ फेरि ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। आइतबार दिउँसो मात्रै वीरगञ्ज र नेपालगञ्जमा गरी १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। तर, साँझ फेरि नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जनाएअनुसार आइतबार एकै दिन १६ जना नयाँ संक्रमित भेटिएको हो। आइतबार साँझ भेटिएका संक्रमितहरूमा नेपालगञ्ज निवासी १६, २१ र ३४ वर्षका पुरूषहरू छन् भने ४०, ५५ र ६० वर्षका महिला रहेका मन्त्रालयले जनाएको छ। उनीहरूको स्वास्थ्यावस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
नेपालमा हालसम्म ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको पिसिआर परीक्षण गरिएको छ। संक्रमितमध्ये १६ जना निको भइसकेका छन् भने रौतहटका एक युवामा पुनः स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। तर, कोरोनाको संक्रमण हो या होइन भन्ने विषयमा भने स्वास्थ्य मन्त्रालयले एकीन गरिसकेको छैन।



























