बैशाख २० । मलेसियामा ४ मे अर्थात पर्सि सोमबारदेखि लकडाउन केही खुकुलो हुने भएको छ।
पहिलेजस्तै स्वतन्त्र रुपमा मानिसको आवातजावत नभए पनि निश्चित मापदण्ड तोकेर बिस्तारै खुकुलो बनाउदै लैजाने मलेसियाको तयारी छ। व्यवसायहरु बिस्तारै खुलाउने तयारी छ। मलेसियाले कोरोना सङ्क्रमण जोखिम रोकथामका लागि १२ मेसम्म लकडाउनको घोषणा गरिएको छ।
मलेसियामा कोरोना सङ्क्रमित मध्ये निको हुनेको सङ्ख्या पनि धेरै छ। ७० प्रतिशत भन्दा धेरै सङ्क्रमित निको भइसकेका छन्। मलेसियामा अहिलेसम्म ६ हजार १७६ जनाको कोरोना सङ्क्रमण देखिएको छ।
जसमध्ये ४३ सय २६ जना निको भएका छन् भन् १७ सय ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ। एक सय तीन जनाको कोरोनाका कारण ज्यान गएको छ। अहिलेसम्म तीन जना नेपालीलाई मात्र कोरोना सङ्क्रमण भएको र जसमध्ये दुई जना निको भइसकेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ। बाँकी एक जनाको अवस्था पनि सामान्य रहेको दूतावासको भनाइ छ।


























