चितवन, बैशाख २० । कोरोना भाइरस संक्रमणको असर गैँडाको गणनामा पनि देखिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले चितवन राष्ट्रिय निकुञ्जले गत चैतदेखि नै गैँडा गणना गर्ने तयारी गरेकोमा अब एक वर्षअघि गणनाको काम नहुने भएको छ।
लगातार पानी परेको तथा कोरोना भाइरसको संक्रमणपछि सरकारले गरेको लकडाउनले तालिम दिएर गणनाको काममा ठीक्क पारिएका प्रावधिकलाई पनि परिचालन गर्न नसकिएको निकुञ्जले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार गैँडा गणनाका लागि ४०० जना खटाउनुपर्ने भएकाले संक्रमणको खतरा देखिएकाले स्थगित गरिएको हो।
अब लकडाउन खुलेपनि वर्षाको समय सुरु भएकाले तत्काललाई गणनाको काम सरेको उनले जानकारी दिए।
अब कम्तिमा एक बर्षपछि मात्रै गणनाको काम सुरू गर्ने योजना रहेको उनको भनाई छ। सन् २०१५ को गणना अनुसार नेपालमा ६४५ गैँडा रहेकोमा चितवनमा मात्रै ६०५ वटा थिए।


























