चितवन, बैशाख १८ । लकडाउनका कारण रगतको अभाव भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी चितवनले अभियानको रुपमा रक्तदान कार्यक्रम थालेका छन्।
अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्यका अनुसार वैशाख ११ गते भरतपुर महानगरपालिका–१ रामनगरबाट घुम्ती रक्तदान कार्यक्रम शुरु गरिएको हो। पहिलो दिन ८१ जनाले रक्तदान गरेका थिए। त्यसपश्चात वैशाख १५ गते भरतपुर महानगरपालिका–११ का २ स्थानमा रक्तदान गरिएको थियो। सो दिन ८७ जनाले रक्तदान गरेको आचार्यले जानकारी दिए। आज भरतपुर महानगरपालिका वडा नं १० स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन्।
कार्यक्रम भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुभारम्भ गरेकीथिईन्। अखिलका जिल्ला सदस्य सचेत सुवेदीका अनुसार यही वैशाख २० गते भरतपुर महानगरपालिका वडा नं १२ र २२ गते वडा नं २४ मा रक्तदान कार्यक्रम हुँदैछ। जेठ १ गते युवा विद्यार्थी स्थापना दिवस हो। सो दिन खैरहनी र त्यसअघि पूर्वी चितवनको खोलेसिमल र बकुलहरमा रक्तदान कार्यक्रम गरिने सुवेदीले जानकारी दिए।
जिल्लामा दैनिकजसो रगत अभावका कारण रक्तदाता जुटाउनुपर्ने बाध्यतालाई केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो स्थापना दिवसको सन्दर्भ पारेर घुम्ती रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए। एकै ठाउँमा रक्तदान गर्दा भीड बढी हुने भएकाले ठाउँठाउँमा रक्तदान गरिएको हो। रासस


























