काठमाडौं, बैशाख १८ । थर्मलगन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
अग्रवालविरुद्ध परेको कालोबजारी मुद्दामा बिहीबार थुनछेक आदेश गर्दै न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश दिएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
जगदम्बा स्टिल्सका सञ्चालक अग्रवाल गत चैत २५ गते थर्मलगनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए।
उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंले अग्रवालविरुद्ध विभिन्न चारवटा कसुरमा १० वर्ष कैद र १५ लाख ७८ हजार जरिवाना माग दाबी गर्दै मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो।
चीनमा ३ हजार नेपाली मूल्य पर्ने थर्मलगन अग्रवालले काठमाडौंमा १५ देखि २० हजार रुपैयाँमा बेच्दै आएको प्रहरीले थाहा पाएपछि आफै ग्राहक बनेर उनलाई नियन्त्रणमा लिएको थियो।


























