– विनोद अनुज
चितवन, बैशाख १७। विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न र त्यसलाई नियन्त्रण गर्न भरतपुर महानगरपालिकाले राम्रो प्रयास थाल्यो। ‘चिनियाँ स्टाइल’मा ७२ घण्टाभित्रै अस्पताल निर्माण भनेर निकै चर्चा कमायो। चितवन उद्योग संघद्वारा निर्मित औद्योगिक प्रदर्शन केन्द्रलाई नै अस्थायी अस्पताल बनाउने विषयमा जिल्लाका सरोकारवाला निकाय तथा राजनैतिक दलहरूले पनि समर्थन जनाए। र, २०७६ चैत ७ गतेबाट सेवा दिन थाल्यो।
उपचारकै क्रममा वीरगञ्जका सन्तोष यादवको मृत्यु भएपछि कोरोना अस्थायी अस्पताल विवादित बन्यो। त्यसपछि चैत २१ गते नै कोरोना अस्थायी अस्पताललाई भरतपुर अस्पताल मातहत चलाउने सम्झौता भए पनि भरतपुर अस्पतालले भने बैशाख १ गते मात्रै सामानको विवरण बुझेको थियो।
तर, बैशाख १५ गते राति सोही अस्पतालका कर्मचारीले सामान चोरी गरेको भनेर सिसिटिभी फुटेजसहितको भिडियो सञ्चारमाध्यमबाट बाहिरिएपछि यो अस्पताल थप विवादित बनेको छ। बैशाख १५ गते साँझ सार्वजनिक भए पनि उक्त भिडियो चैत ३० गते राति भएको घटनाको हो। भिडियोमा चप्पल नापेको, एकजनालाई हातपात नै गरेको (कुर्सी उठाएर प्रहार गर्न खोजेको) र सामान पोको पारेर लगेको प्रष्ट देखिन्छ।
यो भिडियो बाहिर आइसकेपछि सामाजिक सञ्चाल भरियो, चोरहरुलाई कारवाही गर्नुपर्छ भनेर। ‘जाबो चप्पल पनि चोर्ने’ भनेर सामाजिक सञ्जालमै व्यङ्ग्य गर्नेहरूको जमात पनि बढ्यो। यसरी उक्त घटनाबारे सत्यतथ्य छानविन गरेर दोषीलाई कारवाही गर्नुपर्छ भनेर चौतर्फीरूपमै आवाज उठिरहेका बेला भरतपुर कोरोना नियन्त्रण कार्यदल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले विज्ञप्ती जारी गरेर ढाकछोपको प्रयास गरेको देखिन्छ।
नेपाली कांग्रेस, साझा पार्टी र समाजवादी पार्टीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर घटनाबारे सत्यतथ्य छानविन गरी दोषीलाई तत्काल कारवाही गर्नुपर्ने माग गरेका छन् भने नेकपा चितवनले गलत समाचार प्रकाशन गरेको आरोपसमेत लगाएको छ।




मंगलबार दिनभर विज्ञप्ती आउने क्रम जारी रह्यो। जहाँ नेकपा र यसका भातृ संगठनहरू आरोपितको बचाउमा लागेको देखिन्छ भने अन्य दलहरू घटनाको छानविन गर्नुपर्ने पक्षमा देखिन्छन्। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल संयोजक रहेको ‘भरतपुर कोरोना नियन्त्रण कार्यदल’का सदस्य सचिव डा. भोजराज अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा पनि समाचारको खण्डन गर्दै सामान चोरेको नभई स्टोरमा सारेको भनिएको छ।

यसरी दुईधारमा बाँडिएर पार्टीगत धारणा सार्वजनिक नहुँदासम्म अन्य विज्ञप्ती आइसकेका थिएनन्। भरतपुर अस्पतालको समेत धारणा बाहिर आएको थिएन। पार्टीगत रुपमै पक्ष विपक्ष देखिन थालेको भन्दै घटनाको छानबिन गर्न बनाइएको छानबिन समितिका संयोजक राजु पौडेलले कोरोना नियन्त्रण कार्यदललाई पत्र लेख्दै ‘निश्पक्ष र गैर राजनैतिक संस्थाको अध्यक्षको हैसियतले उक्त छानबिन समितिमा रही कार्य गर्नु संघको भावना विपरित हुने भएकोले’ संयोजकको रूपमा काम गर्न असमर्थ रहेको जनाए।

घटना पेचिलो बन्दै गएपछि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटुन्डेन्ट डा श्रीराम तिवारीले पनि कोरोना अस्पतालमा चोरी सम्बन्धी समाचारप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएकोले उक्त समाचारको सन्दर्भमा सत्यतथ्य छानविन गरिदिन चितवनका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेको पत्र सार्वजनिक भयो।

रसायन तथा मेडिकल आपुर्ति संघ नेपाल (केमसान) चितवनले पनि यसैबीच ध्यानाकर्षण जनाएको छ। अनलाइनखबर तथा अन्य अनलाइनमा प्रकाशित समाचारमा नारायणगढको सर्जिकललाई जोडिएको कुरालाई उल्लेख गर्दै ‘केमसान चितवन कुनै पनि आफ्ना सदस्यहरूबाट हुने अवैधानिक कार्यलाई प्रश्रय दिँदैन तर अनर्गल रूपमा विना प्रमाणका आधारमा गरिएका प्रचार सामाग्रीप्रति खेद प्रकट गर्दछ,’ संघका अध्यक्ष अर्जुन रानाभाटद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा भनिएकाे छ। ‘कसैले अनैतिक कार्य गरेको पाइएमा कानुनी कारबाहीको लागि नेपाल सरकारसँग माग’ गर्दै यस्ता कार्यलाई निरुत्साहित गर्न संघ सँधै कटिबद्ध रहेको बताइएको छ।

पत्रकारलाई धम्की
यतिबेलासम्म चोरीको घटनामा संलग्न भनिएका भरतपुर अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखा अधिकृत सूर्य तिवारीले पनि आफ्नो धारणा संयुक्तरूपमा बाहिर ल्याए। खनाल नेपाल निजामती कर्मचारी संगठन चितवनका अध्यक्ष हुन् भने बराल अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष हुन्। उक्त घटनामा दोषी ठहरिए आफूहरु कारवाही भोग्न तयार रहेको उक्त विज्ञप्तीमा जनाएको छ।

चौवीसै घण्टा सेवामा खटिएका कर्मचारीहरूमाथि गलत आरोप लगाएर चरित्र हत्या गर्ने काम गरेको भन्दै सुनियोजित रूपमा समाचार सम्प्रेषण भएकोले समाचार प्रकाशन गर्नेलाई नै कारवाही गर्न घुमाउरो तरिकाले माग गरिएको छ।
पदीय मर्यादाको हिसाबले जिम्मेवार व्यक्तिहरू नै आपराधिक क्रियाकलापमा मुछिएपछि आरोपित निकट स्वास्थ्यकर्मी संगठनहरूले पनि पत्रकार र सञ्चारमाध्यम विरूद्धका विज्ञप्ती जारी गरेका छन्। अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन जिल्ला कमिटि चितवनका अध्यक्ष शेष सापकोटा र अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ चितवनकी संयोजक मीरा अधिकारीले संयुक्तरूपमा विज्ञप्ती जारी गरेर पत्रकारहरूलाई आफैँले कारवाही गर्ने चेतावनी दिएका छन्।

सम्बन्धित व्यक्तिसँग सोधपुछ बिना नै भ्रमपूर्ण तरिकाले समाचार प्रकाशन गरेको उनीहरुको आरोप छ। अस्पतालकै कामको सिलसिलामा सामग्रीहरुको व्यवस्थापन गर्दा देखिएको तस्बिरलाई तोडमोड गरी भ्रामक समाचार गरेको भन्दै उक्त समाचार प्रकाशन गर्नेको पहिचान गरी हदैसम्मको कारवाहीको माग गरेका छन्। आरोपित व्यक्तिहरूको आरोप प्रमाणित गर्न पनि चुनौती दिएका छन्। ‘यस्ता समाजविरोधी गतिविधि गर्ने तथा झुठा समाचार प्रकाशन, प्रसारण गर्नेलाई कारवाहीको लागि सम्बन्धित निकायसमक्ष माग गर्दर्छौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘अन्यथा यस संगठन आफैँले त्यस्ता व्यक्तिहरुको पहिचान गरी आवश्यक कारवाही गर्ने व्यहोरासमेत जानकारी गराउँदछौँ।’
फेसबुक एकाउन्ट बन्द
आरोपित तीनजनासहित दुईवटा संगठनले जारी गरेको संयुक्त विज्ञप्ती ‘भरतपुर कोरोना स्पेशल हस्पिटलको नाममा खोलिएको फेसबुक एकाउण्टबाट सार्वजनिक गरिएको थियो। तर, अस्पतालले आफ्नो आधिकारिक फेसबुकमा पत्रकारमाथि आक्रमण गर्ने आशयको विज्ञप्ती राखेकोप्रति चौतर्फीरुपमा विरोध हुन थालेपछि अहिले उक्त फेसबुक एकाउन्ट नै बन्द गरिएको छ। तर, विज्ञप्ती भने फेसबुक अकाउन्ट हटाउनुपूर्व नै सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो।
घटनामा आरोप लागिसकेपछि छानविनको दायरामा ल्याउनुपर्नेमा सरकार पक्षधर पार्टी, भातृ संगठन र कर्मचारीले आरोपितको बचाउ गर्ने र अन्यले विरोध गर्ने विषय थप पेचिलो बन्दै गइरहेको छ। आरोपित कर्मचारी निकट संगठनको विज्ञप्तीले पनि थप विवाद पैदा भएको छ।
कोरोना नियन्त्रण कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले यसबारे स्पस्टिकरण दिएका छन्। पत्रकार राजेश घिमिरेको यो विवादास्पद विज्ञप्ती प्रकाशन गरिएको प्रति आपत्ति जनाउँदै लेखेको फेसबुक स्टाटसमा जवाफ दिँदै यो गलत भएको र देख्नासाथ ‘एक्सन’ लिएको बताएका हुन्।

पत्रकारको जवाफ
यस विषयमा नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले पत्रकारमाथिको यस्ता धम्की सह्य नभएको बताएका छन्। ‘पत्रकारलाई आफैँ कारबाही गर्छौ भन्नुको अर्थ के हो? कस्तो कारबाही हो? लोकतान्त्रिक शासन पद्धतिमा पत्रकारमाथि यो धम्की सह्य भएन,’ उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ चितवन र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनको यो विज्ञप्तिप्रती नेपाल प्रेस युनियन चितवनको घोर आपत्ति छ। समाचार को विषयमा चित्त नबुझे कानुनी बाटो छ। तर यसरी धम्की दिने कार्यको निन्दा गर्दछौँ।

पत्रकारलाई धम्कीपूर्ण शैलीमा विज्ञप्ती आएपछि यस विषयमा नेपाल पत्रकार महासंघ चितवनले छलफल गर्दैछ। उक्त घटना बाहिरिएपछि अख्तियारले छापा मारिसकेको अवस्था र छानविनपछिको परिणामको ख्यालै नगरी उल्टै समाचार सार्वजनिक गर्ने पत्रकार र सञ्चार संस्थालाई कारबाही गर्ने धम्कीपूर्ण विज्ञप्ती जारी गरेर उनीहरू चुकेका छन्।


























