चितवन, वैशाख १५ । चितवन प्रहरीले दुःख दिएको भन्दै जिल्लाका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले काम गर्ने या नगर्नेमा अन्योलमा परेकाे बताएका छन्। सोमबार बिहान कार्यालय हिँडेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई प्रहरीले भरतपुरको चौबीसकोठीमा रोकेर दुःख दिएपछि अब कामलाई नियमित गर्ने-नगर्नेमा अन्योल बढेको हो। यसअघि वाग्मती प्रदेश सरकारले बैंक, बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूलाई दिनमा ३ घण्टा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको थियो।
तर, प्रदेश सरकारको निर्देशनअनुसार कार्यालय हिँडेका कर्मचारीको सवारीसाधन रोकेर दिनभरी प्रहरी कार्यालयमा लगेर थन्क्याइदिएकाे महाबौद्ध बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक प्रकाश पाण्डेले बताए। ‘हामीलाई प्रदेश मन्त्रालयबाट बढीमा ३ जना कर्मचारी खटाएर सामाजिक दूरी कायम गरी दिनमा ३ घण्टा कार्यालय खोल्नू भनेर पत्र पठाइएको छ,’ उनले भने, ‘मन्त्रालयको निर्देशन मानेर कार्यालय जाँदा सुरक्षाकर्मीहरुले बाटैमा रोकेर जान मिल्दैन भने, अब हामीले कसको कुरा मान्ने ?’

सोमबार बिहान आफ्नो मोटरसाइकल प्रहरीले लगिदिएपछि जिल्ला प्रहरी कार्यालयबाट सहिदचोकमा रहेको कार्यालयसम्म हिँडेरै पुगेको उनले सुनाए । ‘चौबीसकोठीबाट हाम्रो सवारीसाधन पनि नियन्त्रणमा लिइयो, हामीलाई पनि प्रहरी कार्यालयमा लगियो,’ उनले भने, ‘मोटरसाइकल प्रहरीले राखिदिएपछि हामी हिँडेरै कार्यालय पुगेका हौं।’ कार्यालय बन्द गरेपछि फेरि हिँडेरै जिल्ला प्रहरी पुगेर मोटरसाइकल लिएर घर पुगेको उनको भनाइ छ। प्रहरी कार्यालयमा ‘भोलिदेखि के गरौँ त’ भनेर सोध्दा पनि ठोस उत्तर नपाएको उनले गुनासो गरे । ‘हामीलाई माथिको निर्देशन छ भन्छन्,’ उनले भने, ‘तर सेवामूलक कामको लागि प्रदेश सरकारको निर्देशनलाई पालना गरेर कार्यालय खोल्न जाँदा बाटोमा प्रहरीले दुःख दिन्छ भने भोलिदेखि के गर्ने भन्ने विषयमा अन्योल थपिएको छ।’
प्राइम बैंक नारायणगढ शाखाका अपरेसन इञ्चार्ज राज नेपाल पनि कार्यालय जाँदै गर्दा बाटैमा प्रहरीले रोकेपछि चौबसकोठीदेखि सहिदचोकसम्म हिँडेरै गए। आफू सवार मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएपछि हिँडेरै कार्यालय पुगेको उनले बताए। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिए पनि प्रहरीका कारण खोल्न सकिने अवस्था नरहेको उनको भनाइ छ। प्रहरीले अनावश्यक दुःख दिएको उनको आरोप छ। सानिमा बैंक नारायणगढ शाखा प्रमुख दिनेश गौतमको गाडी पनि हाकिमचोकबाट प्रहरीले नियन्त्रणमा लियो। त्यसपछि उनी कार्यालय पुग्न सकेनन्। ‘घरबाट हाकिमचोक पुग्दा प्रहरीले गाडी लगिदिएपछि फर्केर घर गएँ,’ उनले भने, ‘साँझ मात्रै प्रहरीमा गएर गाडी लिएर आएँ।’ राष्ट्र बैंकले कार्यालय खोल्न निर्देशन दिए पनि स्थानीय प्रशासनले दुःख दिएकाले सेवा प्रवाहमा समस्या भएको उनको पनि भनाइ छ।
प्रदेश सरकारको निर्देशनअनसार वैशाख ११ बाट नियमित काममा गइरहेकोमा सोमबार बिना सूचना लायन्सचोकमा प्रहरीले रोकेको तिनाउ मिसन विकास बैंक नारायणगढ शाखाका रिलेसनसिप म्यानेजर उमेश रेग्मीले बताए। ‘आजसम्म कुनै अवरोध नरहेकोमा बिना कुनै सूचना लायन्सचोकमा रोकियो। बैंकका कर्मचारीलाई छानेरै लगेजस्तो देखियो,’ उनले भने, ‘हाम्रो स्रोतले भ्याएसम्म प्रशासनका मान्छेहरूसँग बुझ्ने प्रयास गरियो। तर, त्यहाँबाट हामीलाई नसोध्नुस्, १०० मा फोन गरेर सोध्नुस् भनियो। १०० मा फोन गर्दा माथिको आदेश भनियो।’
जिल्लामा काम गर्ने या नगर्ने भनेर अन्योल सिर्जना भएपछि केन्द्रमा जानकारी गराउँदा माहोल बुझेर काम गर्नू भनिएको उनले सुनाए । राष्ट्र बैंकको सर्कुलरअनुसार अहिले ब्याज छुट पाउने व्यवस्था छ। ‘सर्कुलरअनुसार त कर्मचारी पनि कार्यालय आउनुपर्यो, ग्राहक पनि बैंकसम्म आउनुपर्यो,’ उनले भने, ‘यसले समाचार एकथरी आउने, सर्कुलर अर्कोथरी हुने, प्रशासनको व्यवहारले गर्दा हामी निकै अन्योलमा पर्यौं।’ कार्यालय जान नपाइने भए पहिले नै सूचना जारी गरेर सहज बनाइदिनुपर्ने उनको माग छ। ‘घरबाट निस्कनुअघि रेडियोमा समाचार सुनेरै निस्केको हुँ, समाचारमा त्यस्तो केही पनि भनिएको थिएन,’ उनले भने। तर, गैंडाकोट क्षेत्रबाट आउनेलाई भने यो समस्या नरहेको उनको दाबी छ।
नारायणगढको प्राइम बहुउद्देश्यीय सहकारी संस्था भने अर्कै अन्योलमा छ। घरिघरि बदलिरहने निर्णय र निर्देशनका बीच नियमित सेवा सञ्चालन गर्न समस्या भएको उक्त सहकारीको केन्द्रीय कार्यालय नारायणगढका व्यवस्थापक दिनेश लामिछाने बताउँछन्। सहकारी विभागको एउटा निर्देशन, सहकारीका केन्द्रीय संघसंस्थाको अर्कै निर्णय, प्रदेश सरकारको अर्कोथरी पत्रका बीचमा काम गर्ने कि नगर्ने, कसरी गर्ने भन्नेमा दुविधा भएकोले नियमित सेवा दिन नसकिएको उनको भनाइ छ । ‘हामीले मात्रै होइन, यो क्षेत्रका अधिकांश सहकारीले आकस्मिक सेवा मात्रै दिइरहेका छौं,’ उनले भने।
सकभर पैदलै कार्यालय जानुस् : प्रजिअ
चितवन प्रशासनले भने अत्यावश्यक सेवाका लागि हिँड्ने कर्मचारीको लागि प्रहरीको हटलाइन नं. १०० मा सम्पर्क गरी मौखिक अनुमति लिएर मात्रै हिँड्न आग्रह गरेको छ। सरकारको निर्देशनलाई प्रशासनले रोक्न नमिल्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जनाए। ‘सरकारले कार्यालय खोल्न निर्देशन दियो भन्दैमा भण्डाराबाट नारायणगढ आउन पाउने भनेको होइन,’ उदाहरण दिँदै उनले भने, ‘सकभर कार्यालयको नजिकमा भएको कर्मचारीले कार्यालय सञ्चालन गर्ने भनिएको हो।’ नजिकमा भएका कर्मचारीलाई पनि पैदल जान उनले आग्रह गरे। ‘सकभर पैदल गएर कार्यालय खोल्ने हो, यदि सवारीसाधन नै लिनुपर्ने भए १०० मा फोन गरेर मौखिक अनुमति लिनुपर्छ,’ उनले भने।


























