काठमाडौं, बैशाख १४ । लकडाउनको अवधि र स्वरूपको बारेमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ।
आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए। थापाका अनुसार लकडाउनको अवधि थप्नेरनथप्ने आजको बैठकको मुख्य अजेण्डा छ।
२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय बढाएर भोलिसम्म लम्ब्याएको थियो। उक्त समय सकिने भएकाले आजको बैठकले लकडाउनलाई निरन्तरता दिने वा के गर्ने भन्ने विषयमा निर्णय गर्न लागेको हो।
त्यस्तै बैठकमा कोभिड(१९ नियन्त्रण, रोकथाम र उपचारमा अहिलेसम्म भइरहेको काम र आगामी तयारीका विषयमा पनि छलफल हुनेछ।
मन्त्रिपरिषद्को १२ वैशाखको बैठकले उच्चस्तरीय समितिलाई लकडाउनका सम्बन्धमा प्रस्ताव ल्याउन निर्देशन दिए बमोजिम हिजो बसेको समितिको बैठकले कार्यदल बनाएको थियो।
उक्त कार्यदलले समितिलाई लकडाउन थप एकसाता निरन्तरता दिन सुझाव दिएको छ। कार्यदलको सुझावसहितका अन्य विकल्पका बारेमा मन्त्रिपरिषद्को बैठकले छलफल गरी निर्णय गर्नेछ।
कोरोना संक्रमणको उच्च जोखिम रहेका क्षेत्रलाई पूर्ण लकडाउन गरेर अन्यत्र केही खुकुलो बनाउनुपर्ने विषयमा पनि समितिका सदस्यहरुको सुझाव छ।
सरकारले यसअघि तोकेको लकडाउनको अवधि सोमबार सकिँदैछ। नेपालमा हालसम्म ४९ जना कोरोनबाट संक्रमित भेटिएका छन्, जसमध्ये १२ जना निको भइ घर फर्किसकेका छन्।
अहिले कोरोना संक्रमणको बढी जोखिम देखिएको प्रदेश १, २ र सुदूरपश्चिम क्षेत्रभन्दा अन्यत्र लकडाउन केही खुकुलो बनाउने विषयमा पनि छलफल भइरहेको बताइएको छ।


























