बैशाख १४ । कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको भार इन्टरनेटमा परेको छ। इन्टरनेट प्रयोगकर्ताहरूमाझ गरिएको एक सर्वेक्षणले दैनिक १२ घण्टासम्म बढी समयसम्मसमेत इन्टरनेटको प्रयोग गरेको देखिएको छ।
चाइल्ड सेफनेटले लकडाउनको समयमा बालबालिका, युवा तथा तिनका अभिभावकहरूको साइबर सुरक्षा तथा अनलाइन व्यवहारबारे लघु सर्वेक्षण गरेको हो। सर्वेक्षणमा सहभागीभध्ये ८.६३ प्रतिशतले इन्टरनेटमा समय बिताउने गरेको पाइएको भने एक घण्टाभन्दा कम समय इन्टरनेटमा विताउने १.३८ प्रतिशत मात्र छन्।
सर्वेक्षण इन्टरनेट प्रयोग गर्ने १२ सय २८ जनामा गरिएको हो। सर्वेक्षणमा सहभागीमध्ये ३४.५३ प्रतिशतले ४ देखि ६ घण्टा, २४.२७ प्रतिशतले ६ देखि ९ घण्टा, १५.२३ प्रतिशतले १० देखि १२ प्रतिशत र १ देखि ३ घण्टा इन्टरनेटमा विताउने १५.९६ प्रतिशत छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा ७२.१६ जनसंख्यामा ब्रोडब्याण्ड इण्टरनेटको पहुँचमा छन्।
जसमध्ये ५५.३० प्रतिशतले मोबाइल ब्रोडब्याण्ड इण्टरनेट चलाउँछन्। नेपालमा सबैभन्दा बढी चलाइने सामाजिक संजाल फेसबुकका प्रयोगकर्ता मात्र एक करोड दश लाख छन्।
सर्वेक्षणप्रतिवेदन अनुसार लकडाउन अगाडि १२ घण्टाभन्दा बढी इन्टरनेट चलाउने २.२८ प्रतिशत मात्र रहेको पाइएको छ। त्यसगरि लकडाउनपूर्व इन्टरनेटमा समय बिताउनेमध्ये ४६.३४ प्रतिशत १ देखि ३ घण्टा, २६.९५ प्रतिशतले ४ देखि ६ घण्टा, ११.८९ प्रतिशतले ६ देखि ९ घण्टा, ७.९८ प्रतिशतले एक घण्टा भन्दा कम र ४.५६ प्रतिशतले १० देखि १२ घण्टा इन्टरनेटमा विताउने गरेको पाइएको छ।
























