चितवन, बैशाख १३ । गत बैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका २७ वर्षिय एक युवक शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन्। अस्पताल भर्ना भएको एक हप्तापछि गरिएको पिसिआर परीक्षणमा क्रमशः दुईपटकसम्म कोरोना संक्रमण नदेखिएपछि अस्पतालले बिदा गरेको जनाएको छ। उनीसँगै अस्पताल भर्ना भएकी ६३ वर्षिय महिला भने अस्पतालको अइसोलेसनमा उपचाररत छिन्। संक्रमित दुवैजना आमाछोरा हुन्।
उनीहरु गत चैत ३ गते वेलायतबाट काठमाडौँ आएका थिए। त्यसको दुईदिनपछि चितवन आएका उनीहरुलाई बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो। चितवनमा संक्रमण देखिएका दुईमध्ये एकजना एकजना निको भएपछि नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा नौ हजार ६६६ वटाको पिसिआर परीक्षणका क्रममा भारतीय र नेपाली गरी ४९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।


























